अनुचित रूपमा पैसा मागेको भन्दै प्रलोपाले रुपन्देही-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो

अनुचित रूपमा पैसा मागेको भन्दै प्रलोपाले रुपन्देही-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो

बुटवल : अनुचित तरिकाले पैसा मागेको र श्रीमतीलाई अर्को दलबाट समानुपातिक उम्मेदवार बनाएको आरोप लगाउँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीका रुपन्देही–३ का उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित गरेको छ। प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रवार जारी गरेको विज्ञप्तिमा काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएको दाबी गरेका छन्।

विज्ञप्तिमा पार्टीबाट उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले पैसा मागेको र श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट  समानुपातिक उम्मेदवार बनाएको उल्लेख छ। उनको क्रियाकलापले पार्टीको छविमा क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई हटाइएको विज्ञप्तिमा उल्लेख छ।

काराखेतीको निष्कासनपछि रुपन्देही–३ मा प्रलोपा उम्मेदवारहीन बनेको छ। कुनै दलको उम्मेदवारलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको बैठकले  निर्णय गर्ने राईले बताएका छन्।

माघ २३, २०८२ शुक्रबार १७:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।