‘चुहिएको समय’मा महायुग लेखेकी सिमाको प्रश्न "वंशावलीमा नाम समेत नलेखिने महिलाहरू पुरुषका दासहरू मात्र हुन् ?"

‘चुहिएको समय’मा महायुग लेखेकी सिमाको प्रश्न

कवि, कथाकार हुँदै उपन्यासकार बनेकी सिमा आभासको लेखन बेजोड छ। किनारामा पारिएका पात्रलाई मूल पात्र बनाएर साहित्यिक सिर्जनामार्फत सिंगो समाजलाई चुनौती दिने उनका कृतिहरू छन्।

‘म स्त्री अर्थात् आइमाई’ कविता सङ्ग्रह होस् या ‘महायुग’ उपन्यास, उनले आफ्नो लेखनमा क्रान्तिकारीपन प्रस्तुत गरेकी छन्। यो वर्ष उनको उपन्यास ‘महायुग’ प्रकाशित भएको छ।

प्रस्तुत छ, सोही उपन्यासको सेरोफेरोमा रहेर उकेराकर्मी प्रजु पन्तले लेखिका सिमा आभाससँग गरेको कुराकानीको सम्पादित अंश:

कवि, कथाकार हुँदै उपन्यासकार बन्नुभयो। साहित्यिक लेखनको यात्रा कसरी तय गर्नुभयो?
साहित्यिक लेखन त मैले स्कुल पढ्दादेखि नै सुरु गरेँ। कक्षा २ मा पढ्दा कविता लेखेको याद छ। २०६६ सालमा मेरो कथासङ्ग्रह ‘टापुका स्वरहरू’ प्रकाशित भयो। त्योभन्दा अगाडि नै २०६३ सालमा एउटा कविता सङ्ग्रह छापिसकेको थिएँ।

त्यसपछि २०७३ सालमा अर्को कविता सङ्ग्रह ‘म स्त्री अर्थात् आइमाई’ प्रकाशित गरेँ। त्यसको ९ वर्षपछि ‘महायुग’ उपन्यास प्रकाशित भयो।

पुस्तकको नाम सामान्य ‘युग’ मात्र होइन, ‘महायुग’ छ। तर, पुस्तक प्रकाशनमा नौ वर्षको ग्याप किन भयो?
हामी अर्थात् महिलाले लेख्ने भनेको ‘चुहिएको समय’मा हो। जागिर, घरको काम अनि बालबच्चा- तिनलाई हुर्काउनुपर्यो।

केटाकेटीहरू निदाएपछि आफूलाई निद्रा लागेन भने वा भान्साको कामबाट अलिकति उब्रिएको टुक्रे समयमा लेख्ने हो। यसरी चुहिएको समयमा लेख्दा कृति तयार हुन समय त लाग्ने नै भयो।

लेखक भर्जिनिया उल्फले ‘अ रूम अफ वान्स ओन’ (१९२९) पुस्तकमा ‘यदि महिलाले साहित्य सिर्जना गर्नु छ भने पैसा र छुट्टै कोठा चाहिन्छ’ भनेकी थिइन्। यो बहस अहिले पनि हुने गर्छ, यसमा तपाईंको धारणा के छ?
हो, मैले उनको पुस्तक केही वर्षअघि पढेकी थिएँ। तर, यथार्थमा त्यो ‘सिंगल’ कोठा पनि आफ्नो हुन सक्दोरहेनछ।

मैले घर पनि बनाएँ, अलगै कोठा पनि बनाएँ। त्यहीँ बसेर पढ्ने-लेख्ने पनि गर्न थालेँ तर केही बेरमा सानो छोरो आउँछ, अर्को आउँछ। दुवै छोरा आएर बसेपछि श्रीमान् पनि आइपुग्छन्।

आफू जता गयो, उतै हुन्छ बास। यसलाई सकारात्मक तवरबाट हेर्दा यो घरको एउटा सौन्दर्य पनि हो। ‘म एक्लै बस्छु’ भन्नका लागि कि त घरबार त्यागेर पूर्णकालीन लेखक बन्नुपर्यो, होइन भने हामीजस्तो घरबार गरेको मान्छेलाई त्यो एकान्त कोठा नहुने रहेछ।

तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

परिवारदेखि पाहुनासम्मले हामीलाई नै खोजेर आउँछन्। त्यसैले, यसलाई नकारात्मक रूपमा हेर्नुभन्दा सौन्दर्यका रूपमा बुझ्ने र उब्रिएको समयमा लेख्ने बानी बसाल्नुपर्छ। मोबाइलमै पनि लेख्न मिल्ने भएकाले खाना पकाउँदा होस् या सुत्नुअघि, दुई-चार हरफ लेख्ने गर्छु।

सामाजिक सञ्जालमा स-साना कुरा लेख्दा पनि लेख्ने बानी हट्दैन। कथा र कविता नै पर्खेर नबसौँ, जतिबेला पनि लेख्न सकिन्छ र साना कुरा पनि लेख्नुपर्छ भन्ने मलाई लाग्छ।

तपाईंका साहित्यिक सिर्जनाहरूमा महिला पात्रलाई प्रमुख बनाइएको हुन्छ। आफू महिला भएर प्रमुख पात्र बनाउनुभयो कि ‘पुरुष मात्र केन्द्रमा हुनुहुँदैन’ भनेर प्रतिरोध गर्नुभएको हो?
यसमा दुवै कुरा हुन्। पहिलो त, आफूले सबैभन्दा धेरै जे जानेको छ, त्यही लेख्ने हो। कतिपयले ‘महिलाले लेखेको कुरा घरको चौघेराभन्दा बाहिर जाँदैन’ भन्ने गर्छन्।

तर, घर आफैँमा विश्वविद्यालय हो। घरभित्र पूर्ण समाज छ। त्यहाँ कानुन छ, धर्म छ, विकृति छ, सुन्दर कुरा छन् र जीवनका सौन्दर्यहरू पनि छन्।

एउटै विषयवस्तुलाई पुरुष र महिलाले सोच्दा फरक तरिकाले सोचेका हुन्छन्। पहिलो कुरा, हामी प्राणी नै अलग हौँ। दोस्रो, हामीलाई कानुन, धर्म, परिवार र समाजले नै अलग तरिकाले सोच्न सिकाइरहेको हुन्छ।

म महिला भएकाले कानुन, धर्म र समाजले कसरी विभेद गरिरहेको छ भन्ने थाहा हुने भयो। राम्रादेखि नराम्रा कुरासम्मको अनुभूति हुने भयो। लेखाइमा तिनै कुरा त आउने भए।

तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

अर्को कुरा, महिलालाई किन केन्द्रमा राखेको भन्नुभयो- के हामी केन्द्रमा आउनु पर्दैन र? पुरुषले लेखेका हरेक किताब ‘मूलधार’ का हुने, तर महिलाले लेखेको किताबमा ‘महिलावादी’ ट्याग भिराइदिने?

यद्यपि महिलावादी भन्नुमा आपत्ति छैन, तर हाम्रा लेखन पनि मूलधारका त हुन् नि! हामी पनि केन्द्र बन्नुपर्यो। हामीले हाम्रा कुरा भन्ने र लेख्ने स्थानमा आइपुगेका छौँ भन्ने मलाई लाग्छ।

धेरैजसो साहित्यिक कृतिमा पुरुषहरू नै मूल पात्र बनाएको देखिन्छ। उपन्यासमा महिला पात्रहरू अक्सर खाना पकाउन, यौनका लागि वा सहायक कामका लागि मात्र आउँछन्। तपाईंले पनि आफ्नो उपन्यासमा पुरुष पात्रहरूलाई ‘चाहिएको बेला मात्र’ ल्याउनुभएको छ। के यो उपन्यासमा पुरुषहरू दयाका पात्र बनाइएका हुन्?
उनीहरू दयाका पात्र होइनन्। मलाई मेरा पात्रहरू दया र सहानुभूति खोज्ने नहुन् भन्ने लाग्छ। प्रत्येक पात्रप्रति माया र प्रेम हुँदो रहेछ। कुनै पात्र आवश्यक परेर आउने अनि नचाहिँदा हराउँथे, त्यतिबेला ती पात्र खोजी गर्न मलाई निकै सकस पर्थ्यो।

प्रायः उपन्यासमा महिलालाई अह्राएको काम गर्ने, कमजोर, सहानुभूतिको र एकदमै कोमल पात्र बनाइएको छ। तर, महिला त्यति मात्र होइनन्। मेरा उपन्यासका सबै पात्रहरू साहसका प्रतीक छन्। उनीहरूमा विशेष काम गर्ने क्षमता छ।

अवश्य पनि, साहसिक काम गर्ने भूमिकामा महिला पात्रहरू धेरै राखिएको हो। पुरुषले पुरुष पात्रलाई मात्र शक्तिशाली बनाउने साहित्यिक सत्तालाई चुनौती होस् भनेर नै मैले महिला पात्रहरूलाई प्रमुख र शक्तिशाली बनाएकी हुँ।

हाम्रो देशमा लेखिएका वंशावलीमा पुरुषहरूको मात्र नाम हुन्छ, महिलाको पुस्तान्तरण देखिँदैन। के उपन्यास मार्फत ‘वंशावलीमा महिलाको नाम खोइ?’ भनेर प्रश्न गर्न खोज्नुभएको हो?
हो, त्यो पनि हो। महिलाको वंशावली खोइ? हामीले हजुरआमासम्मको नाम भन्न सकौँला, अरू थप खोइ? के महिलाहरू पुरुषका दासहरू मात्र हुन्?

केही थरहरूको वंशावलीमा दिदीबहिनीको नामसम्म राखेको पाइन्छ, तर पूर्ण वंशावली नै छैन। यस्तो पनि इतिहास हुन्छ?

यो पुरुषले पुरुषका लागि लेखेको इतिहास होइन र? ५१ प्रतिशत महिलालाई नामेट पारिएको छ। उपन्यास नै किन नहोस्, परिकल्पना त गर्न पाइयो नि भनेर मैले चार पुस्ते कथा भनेँ।

समस्या कतिसम्म छ भने, विवाह गरेर गएपछि सम्बन्धविच्छेद भयो भने महिलाले ठेगाना समेत कहाँको लेख्ने भनेर अन्योल हुन्छ।

तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

महिलाको न त वंशावलीमा नाम छ, न त जमिनमा अधिकार। जसले गर्दा महिलाहरूको अस्तित्वमाथि नै प्रश्न उठेको छ। हामी एक व्यक्तिले गर्ने ‘फिक्सन’मा नै किन नहोस्, प्रतिरोध गर्न पाइयोस् न भन्ने मेरो चाहना हो।

राज्य कतिसम्म निकम्मा छ भने एउटा घटना भन्छु- मेरी एक जना साथीले छोरी पाइन्। छोरी पाइन् भनेर उनका श्रीमान् छोडेर गए। उनले छोरीलाई हुर्काइन्, पढाइन् तर नागरिकता दिन सकिनन्। अन्त्यमा छाडेर गएका श्रीमान् खोज्नुपर्यो।

यो त राज्यले गरेको महिलामाथिको अपमान हो नि! जसले जन्मायो, हुर्कायो उसैको नाममा नागरिकता दिन नसक्ने भन्ने पनि हुन्छ? यस्ता कुराहरू फिक्सन होस् या नन-फिक्सन, आउनुपर्छ र प्रतिरोध हुनुपर्छ भन्ने मलाई लाग्छ।

तपाईंको उपन्यासको आवरण (स्केच) र नामले पनि स्त्रीशक्तिलाई जनाउँछ। यसकाबारे केही बताइदिनुस् न!
आवरणमा जुन चित्र छ, त्यो स्त्रीशक्तिको प्रतीक हो। हातका विभिन्न मुद्राहरू हुन्छन्, जसको अर्थ हुन्छ। यो मुद्राले चाहिँ हाम्रो मानसिक स्थिति बुझाइरहेको छ।

त्यहाँ महायुगको प्रवेशद्वार छ। जब महायुग निर्माण हुन्छ, त्यहाँ प्रवेश गर्नुपर्छ। त्यो प्रवेशद्वार ‘योनी मुद्रा’ आकारको बनाइएको छ र त्यहीँबाट पात्रहरू प्रवेश गर्छन्।

अर्को कुरा नामको, पूर्वीय दर्शनअनुसार युगहरूको पनि युगलाई ‘महायुग’ भनिन्छ। हामी त अहिले यो युगमा बाँचिरहेका छौँ नि! त्यसैले त्यो युगभन्दा अलग खालको युगको परिकल्पना गरिएको छ।

अर्कै संसारको परिकल्पना गरिएको हुनाले, त्यसलाई प्रतिनिधित्व हुने गरी उपन्यासको नाम ‘महायुग’ राखेको हो।

उपन्यासमा दर्शनको प्रयोग पनि छ। यसमा तपाईंले पूर्वीय दर्शन अलि बढी राख्नुभएको छ। दोस्रो भागमा अध्यात्मवादी देखिन्छ। तपाईं अध्यात्मवादी भएका कारण उपन्यासमा त्यसको प्रभाव देखिएको हो?
म अध्यात्मको बारेमा धेरै जान्दिनँ। नजान्ने भएकाले यस विषयमा बोल्ने मेरो अधिकार छैन। तर, मैले बुझेको अध्यात्म भनेको चाहिँ आफूभित्रको चेतना जागृत गराउनु हो।

पढेर हुन्छ कि, देखेर हुन्छ कि वा ‘म को हुँ’ भनेर आफैँलाई पत्ता लगाएर हुन्छ- चेतना जागृत गराउने कुरा नै अध्यात्म हो।

तर, हामीले अध्यात्म भनेको हिन्दु धर्म हो भनेर बुझिरहेका छौँ। मैले बुझ्दाखेरि आफूभित्रको शक्ति र चेतना जागृत गराउने कुरा नै अध्यात्म हो।

त्यसैले, अहिले म जे लेखिरहेकी छु, त्यो अध्यात्म भयो भनिरहेकी छु। उपन्यासमा त्यसैको प्रभाव देखिएको हो।

छायादेवी, विष्णुमाया, निलाञ्जना, रिपुमर्दिनी... पात्रका यी नामहरू कसरी राख्नुभयो ?
प्रायः उपन्यासमा महिला पात्रको नाम हलुका अर्थ लाग्ने वा कोमल राखिदिने चलन छ। मलाई के लाग्यो भने, नामको अर्थले धेरै कुरा बोल्छ।

त्यसकारण मैले नामको अर्थ र पात्रको स्वभावअनुसार नाम राखेको हो। जसको प्रतीकात्मक अर्थ आओस् भन्ने लागेर नै ‘रिपुमर्दिनी’ (शत्रु नास गर्ने) जस्ता नाम चयन गरेकी हुँ।

उपन्यास लेख्दाखेरि अध्ययन, भ्रमण वा अनुसन्धान गर्ने गरिन्छ। तपाईंले यो उपन्यासमा पात्रहरूलाई हिमालै-हिमाल हिँडाउनुभएको छ। यो ‘आइडिया’ कसरी आयो?
हाम्रो देश हिमालै-हिमाल भएको देश हो। हिमाल शक्ति पनि हो। महिला स्वतन्त्र भएर हिँड्दा हिमाल, जंगल र नदी पनि जोडिऊन् भन्ने अर्थमा यस्तो परिवेश रोजेकी हुँ।

जमिन, पानी, भौगोलिक बनावट, नदीनाला र रुखबिरुवाले पनि हाम्रो चेतना र स्वभाव निर्माण हुन्छ भनिन्छ। पर्यावरणको कुरा पनि आओस् भन्ने लागेर नै यी कुराहरू समेटिएका हुन्।

तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

उपन्यासमा त सम्पूर्ण जीवन आउने भयो, त्यसैले जीवनसँग जोडिएका यी कुराहरू छुट्ने नै भएनन्।

अन्त्यमा, पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
प्रतिक्रिया मिश्रित छ। कसैले अध्यात्मले तान्यो भन्नुभएको छ, कसैले पहिलो भागले।

दर्शनको बुझाइ फरक-फरक पर्ने हुँदा मिश्रित प्रतिक्रिया आएका हुन्। एउटा लेखकलाई आफ्नो पुस्तकबारे जस्तोसुकै प्रतिक्रिया आए पनि आनन्द लाग्छ।

अनि पठन संस्कृति हरायो भन्छन् नि१ तपाईंलाई के लाग्छरु
म यसमा सहमत छैन। अहिले हाम्रो देशमा साक्षरता दर बढेको छ। छनोटका अवसर धेरै छन्, जसले गर्दा पाठकले पढिरहेका छन्।

मलाई चाहिँ ‘अहिलेभन्दा पहिले धेरै पढ्थे’ भन्ने जुन रोइलो गरिन्छ, त्यस्तो लाग्दैन। माध्यम फेरिएका होलान्, तर पाठक घटेका छैनन्।

माघ २३, २०८२ शुक्रबार १७:०७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।