कीर्तिमानी साझेदारीसँगै आरसीबीले जित्यो दोस्रो डब्ल्यूपीएल उपाधि, दिल्लीको लगातार चौथो हार
एजेन्सी : विशाल स्कोर खडा गरेर पनि दिल्ली क्यापिटल्स(डीसी)ले वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)को उपाधि जित्न सकेन।
बिहीबार भएको रोमाञ्चक फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले दिल्लीलाई हराउँदै दोस्रो पटक उपाधि उचालेको छ।
यो हारसँगै दिल्ली क्यापिटल्सले लगातार चौथो पटक डब्ल्यूपीएलको फाइनलमा हार व्यहोर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भयो। आरसीबीसँग दिल्ली फाइनलमा पराजित भएको यो दोस्रो पटक हो।
दिल्लीले प्रस्तुत गरेको २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आरसीबीकी कप्तान स्मृती मन्धाना र जर्जिया भोलले डब्ल्यूपीएल इतिहासकै सर्वाधिक ठूलो १६५ रनको साझेदारी गरे। यो डब्ल्यूपीएलको इतिहासमा सफलतापूर्वक पछ्याइएको अहिलेसम्मकै ठूलो लक्ष्य पनि हो।
सुरुवातमा ग्रेस ह्यारिसलाई सस्तैमा गुमाए पनि मन्धाना र भोलले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई आरसीबीको पक्षमा ल्याएका थिए। पावरप्लेमा ५९ रन जोडेको आरसीबीका लागि दुवै ब्याटरले अर्धशतक प्रहार गरे।
अन्त्यतिर दिल्लीले केही विकेट लिएर खेलमा फर्कने प्रयास गरे पनि अन्तिम ओभरमा राधा यादवले लगातार दुई चौका प्रहार गर्दै आरसीबीलाई जित दिलाइन्।
त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। सुरुवात निकै सुस्त (पहिलो ३ ओभरमा ९ रन मात्र) भए पनि दिल्लीले पछि आक्रामक ब्याटिङ गरेको थियो।
लिजेल लीले ३७ रन बनाइन् भने कप्तान जेमिमा रोड्रिगेसले ३२ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याइन्।
इनिङ्सको १९औं ओभरमा सिनेल हेनरीले आरसीबीकी बलरविरुद्ध लगातार ४, ४, ४, ४ र ६ प्रहार गर्दै खेलको माहोल तताएकी थिइन्। तर, उनको त्यो विष्फोटक ब्याटिङ र २०० रनको स्कोर पनि दिल्लीलाई उपाधि दिलाउन पर्याप्त भएन।
माघ २३, २०८२ शुक्रबार ०८:२४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।