रास्वपामा चर्कियो प्राइमरी इलेक्सन शुल्क विवाद, २५ हजार लिएर ठगेको भन्दै श्री कुँवरले छाडे पार्टी
बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. श्री कुँवरले पार्टी छाडेका छन्। उनले पार्टीको प्राइमरी इलेक्सनको विधिमाथि प्रश्न गर्दै बिहीबार पार्टी छाडेका हुन्। उनी रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–१ बाट उम्मेदवारमा सिफारिस भएका थिए।
रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भए पनि सुनिल लम्साल उम्मेदवार बनेपछि राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले बिहीबार विज्ञप्ति निकालेर पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टीले प्राइमरी इलेक्सन गर्ने भन्दै आकाङ्क्षी उम्मेदवारबाट २५ हजार रुपैयाँ लिए पनि प्राइमरी इलेक्सन नै नगरी उम्मेदवार चयन गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
विज्ञप्तिमा उनले पार्टीले समानुपातिकमा नाम राख्न ५० हजार शुल्क र प्रत्यक्षका लागि २५ हजार शुल्क लिएर नयाँ शैलीको भ्रष्टाचारको सुरुवात गरेको आरोप समेत लगाएका छन्।
उनले आफू अमेरिकामा सेटल भइसके पनि रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जिसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेपछि दुई लाख रुपैयाँ खर्च गरेर नेपाल आएको र उम्मेदवार सिफारिस भए पनि पार्टीले प्राइमरी इलेक्सनका नाममा आकाङ्क्षीबाट पैसा असुलेर प्राइमरी इलेक्सन नगरेको आरोप लगाएका छन्।
बुधवार २०७९ को निर्वाचनमा काठमाडौँ-५ बाट उम्मेदवार बनेका प्रणयशमशेर राणाले समेत पार्टीले प्राइमरी इलेक्सनको नाममा उठाएको २५ हजार फिर्ता नगरे ठगी हुने बताएका थिए। उनले पार्टीको विधानमै प्राइमरी इलेक्सनको प्रावधान रहेको तर यस पटक उम्मेदवारका आकाङ्क्षीसँग २५ हजार शुल्क उठाएर पनि प्राइमरी इलेक्सन नगरेको भन्दै सो रकम फिर्ता हुनुपर्ने बताएका थिए।
काठमाडौँ-५ मा राणा समेत आकाङ्क्षी थिए। तर रास्वपाबाट सस्मित पोखरेल सिफारिस भए। रुपन्देही र काठमाडौंका दुवै उम्मेदवार बालेन्द्र शाहको सूचीबाट उम्मेदवार सिफारिस भएका हुन्।
माघ २२, २०८२ बिहीबार १५:०९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।