५० लागे अभिषेक बच्चन : नक्कली औंठी लगाएर ऐश्वर्यालाई प्रस्ताव गरे, हलिउड हिरो विल स्मिथको रेकर्ड तोडे
एजेन्सी : बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन र जया बच्चनका छोरा अभिषेक बच्चन आज आफ्नो ५०औं जन्मदिन मनाउँदैछन्।
एउटा सुपरस्टारको छोरा हुनुको दबाब, लगातारका असफलता, कडा आलोचना र त्यसपछि प्राप्त सफलताको रोचक चक्र पार गर्दै उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।
अभिषेकले मुम्बई, दिल्ली र स्विट्जरल्याण्डमा अध्ययन गरेपछि उच्च शिक्षाका लागि बोस्टन विश्वविद्यालय गएका थिए। तर, बुबाको कम्पनी टाट पल्टेपछि परिवारलाई आर्थिक संकटमा सघाउन उनले पढाइ बीचमै छाडेर भारत फर्कनुपर्यो।
एक समय यस्तो पनि थियो कि उनीसँग अवार्ड समारोहमा जान नयाँ लुगा किन्ने पैसा थिएन, जसका कारण उनले बहिनी श्वेताको विवाहको शेरवानी लगाएर जानुपरेको थियो। करियरको सुरुवाती दिनमा उनले प्रोडक्सन बोइको रूपमा सेट सफा गर्ने, भुइँ पुछ्ने र चिया बनाउने जस्ता काम समेत गरे।
सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट डेब्यु गर्दा उनीमाथि ‘अमिताभको छोरा’ हुनुको ठुलो दबाब थियो।
पहिलो सट दिँदा गाउँलेहरूको भिड उनलाई हेर्न आएको थियो, जसका कारण उनी निकै डराएका थिए। उनको सुरुवाती करियर निकै कष्टकर रह्यो। ‘तेरा जादू चल गया’, ‘ढाई अक्षर प्रेम के’ जस्ता दर्जनौं फिल्महरू बक्स अफिसमा असफल भए।
सन् २००२ मा ‘शरारत’ फिल्म फ्लप भएपछि एक महिलाले हल बाहिर अभिषेकलाई थप्पड हान्दै भनेकी थिइन्, ‘आफ्नो परिवारको नाम बदनाम नगर, अभिनय छाडिदे।’
लगातारको असफलताबाट निराश भएर जब अभिषेकले अभिनय छाड्ने सोच बनाए, तब बुबा अमिताभले उनलाई सम्झाउँदै भनेका थिए- ‘मैले तिमीलाई हार मान्न होइन, लड्न सिकाएको छु।’
त्यसपछि आएको फिल्म ‘युवा’ले उनको करियर बदलिदियो। ‘धूम’, ‘बन्टी और बबली’, ‘सरकार’ र ‘गुरु’ जस्ता फिल्मले उनलाई अभिनयको शिखरमा पुर्याए। उनले लगातार तीन पटक फिल्मफेयर अवार्ड जितेर आफ्नो क्षमता प्रमाणित गरे।
अभिषेकको नाममा एक रोचक ‘गिनीज वर्ल्ड रेकर्ड’ पनि छ। उनले १२ घण्टाभित्र ७ वटा शहर पुगेर फिल्म ‘दिल्ली-६’ को प्रमोसन गर्दै हलिउड अभिनेता विल स्मिथको रेकर्ड तोडेका थिए।
हालका वर्षहरूमा अभिषेकलाई ‘ओटीटीको बच्चन’ भन्न थालिएको छ। ‘ब्रीद: इन्टु द स्याडोज’, ‘लूडो’, ‘दशवीं’ र ‘बी ह्याप्पी’ जस्ता प्रोजेक्टहरूले उनलाई डिजिटल प्लेटफर्मको सुपरस्टार बनाएका छन्।
अभिषेक ६ वर्षको उमेरमा अभिनेत्री जीनत अमानको प्रेममा परेका थिए र उनलाई बिहे गर्छु समेत भनेका थिए।
तर, वास्तविक जीवनमा उनको जोडी ऐश्वर्या रायसँग जम्यो। उनले ऐश्वर्यालाई 'गुरु' फिल्मको सुटिङमा प्रयोग गरिएको नक्कली औँठीले न्युयोर्कमा प्रपोज गरेका थिए। सन् २००७ मा उनीहरूको विवाह भयो र अहिले उनकी छोरी आराध्या छिन्।
अभिषेक बच्चनका लागि यो वर्ष निकै महत्त्वपूर्ण रहनेछ। १ मे २०२६ मा रिलिज हुने ऐतिहासिक फिल्म ‘राजा शिवाजी’मा उनी महत्त्वपूर्ण भूमिकामा देखिँदैछन् भने २४ डिसेम्बर २०२६ मा उनी ‘किङ’ फिल्ममा शाहरुख खानविरुद्ध भिलेनको भूमिकामा छन्।
माघ २२, २०८२ बिहीबार १२:०९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।