निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरः उपराष्ट्रपति
काठमाडौँ : उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
काठमाडौँमा आज आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताएका हुन्।
उनले निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले अवसर गुमाउन नहुनेमा जोड दिए।
“निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्छ, त्यसले लोकतन्त्रलाई जीवन्त राख्छ र समावेशितालाई बलियो बनाउँछ”, उनले भने, “निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियाे बनाई समावेशितालाई सुदृढ पार्छ।”
उपराष्ट्रपति यादवले आदिवासी जनजातिलाई स्रोत साधनमा पहुँच, नीति निर्माणमा सहभागिता र न्यायपूर्ण विकास प्रक्रियामा संलग्नतामा सुनिश्चित गर्न आयोगले पहल गर्न जरुरी रहेको बताए।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले कार्यप्रगति प्रस्तुत गर्दै अझै पनि नेपालमा आदिवासी जनजातिको राज्यको निकायमा पहुँच तथा सुविधा अत्यन्तै कमजोर रहेको बताए।
उनले विभिन्न अध्ययन अनुगमनमा समेत राज्यका अङ्गबाट भएका कमीकमजोरी औँल्याउँदै गरिएको सिफारिस १० प्रतिशतभन्दा बढी कार्यान्वयन हुन नसक्नु दुःखको कुरा भएको बताए। विशेष नीति वा कानुन लयाएर समान सहभागिता र उचित प्रतिनिधित्वको सुनिश्चितता गर्न तत्काल जरुरी रहेको उनले उल्लेख गरे।
माघ २१, २०८२ बुधबार १६:३४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।