जागिरको पासोमा २५ वर्षीया युवती : सहकर्मीबाटै बलात्कृत अनि अध्यक्ष मतियार, आत्महत्याको प्रयासपछि नौ लाख उपचार खर्च

जागिरको पासोमा २५ वर्षीया युवती : सहकर्मीबाटै बलात्कृत अनि अध्यक्ष मतियार, आत्महत्याको प्रयासपछि नौ लाख उपचार खर्च

काठमाडौं : सामाजिक सञ्जालको चिनजान, जागिरको प्रलोभन र अन्ततः होटलको कोठामा पुर्याएर ब्ल्याकमेलिङ। काठमाडौंको एक निजी कम्पनीमा कार्यरत युवतीमाथि भएको जघन्य अपराधको शृङ्खला अदालतसम्म पुगेको छ।

जागिरको खोजीमा रहेकी एक २५ वर्षीया युवतीलाई मार्केटिङ म्यानेजरको पद दिलाउने बहानामा नजिकिई जबरजस्ती करणी गरेको, भिडियो बनाएर ब्ल्याकमेल गरेको र कम्पनीका अध्यक्षले समेत घटना दबाउन भूमिका खेलेको अभियोगसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार कोशी प्रदेश घर भई काठमाडौंको वनस्थली बस्ने २२ वर्षीय सुमन श्रेष्ठ (अस्मन) र उदयपुर घर भएका कम्पनीका अध्यक्ष ३० वर्षीय धीरेन्द्र तामाङविरुद्ध अभियोगपत्र दायर गरेको हो। मुख्य प्रतिवादी सुमन प्रहरी हिरासतमा छन् भने अध्यक्ष धीरेन्द्र फरार छन्।

फेसबुकको चिनजान र जागिरको अफर
घटनाको सुरुवात सामान्य चिनजानबाट भएको थियो। पीडित युवती र आरोपी सुमन श्रेष्ठबीच फेसबुकमार्फत चिनजान भएको थियो। त्यसबेला युवती ‘अरोरा कमर्स कम्पनी’ मा बजार व्यवस्थापक थिइन्। सुमनले उनलाई आफ्नो कम्पनीमा राम्रो अवसर रहेको भन्दै प्रलोभन देखाए।

अभियोगपत्रका अनुसार, सुमनको प्रस्ताव स्वीकार गर्दै ती युवतीले २०८१ कात्तिकमा वनस्थलीस्थित कम्पनीमा  मार्केटिङ म्यानेजरको रूपमा काम सुरु गरिन्। एउटै कम्पनीमा काम गर्दा उनीहरूबीच मित्रता बढ्यो। तर, यही मित्रताको आडमा सुमनले नियत खराब गर्न थाले।

घटना विवरणअनुसार, सुमनले युवतीलाई सुरुदेखि नै दबाबमा राख्ने रणनीति अपनाएको देखिन्छ। २०८१ फागुनमा युवतीले कम्पनी छोड्न खोज्दा सुमनले उल्टै चोरीको आरोप लगाए।

बालाजू प्रहरी वृत्तमा उजुरी दिएर उनलाई एक दिन थुनामा समेत राख्न लगाए। पछि ‘चोरी भएको छैन’ भन्दै मिलापत्र गराएर छुटाए। यो घटना युवतीलाई तर्साउने र आफ्नो नियन्त्रणमा राख्ने प्रपञ्च थियो भन्ने कुरा पछि खुल्दै गयो।

अभियोगपत्रमा उल्लेख भएअनुसार, २०८२ वैशाख १२ गते सुमनले युवतीलाई फोन गरेर चाबहिलस्थित लुम्बिनी होटल एण्ड गेस्ट हाउसमा खाजा खान बोलाए।

होटलको कोठा नम्बर ६ मा पुगेपछि सुमनले युवतीलाई ललाईफकाई गरे। अभियोगपत्रमा पीडितले दिएको बयानअनुसार, खाजा खाएपछि उनी अचेत जस्तै भइन्। त्यही मौकामा सुमनले जबरजस्ती करणी गरे।

पीडित होसमा आउँदा उनीहरू एउटै ओछ्यानमा थिए। प्रतिकार गर्न खोज्दा सुमनले ‘बिहे गर्छु’ भन्दै आश्वासन दिए र कोठाबाट निस्किए।

भिडियोको पासो र आत्महत्याको प्रयास
घटना यतिमै रोकिएन। सुमनले जबरजस्ती करणीको भिडियो खिचेका रहेछन्। त्यही भिडियो देखाएर उनले युवतीलाई पटक-पटक ब्ल्याकमेल गर्न थाले। ‘तिम्रो इज्जत सामाजमा छरिदिन्छु’ भन्दै धम्की दिएर मानसिक यातना दिए।

यातना सहन नसकेर पीडितले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरिन्। उपचारका क्रममा उनको ९ लाख रुपैयाँ खर्च भएको विवरण अभियोगपत्रमा उल्लेख छ। सुमनले पीडितकी दिदीलाई समेत सो भिडियोबारे जानकारी गराउँदै ‘भित्रभित्रै कुरा मिलाउन’ दबाब दिएका थिए।

यस प्रकरणमा कम्पनीका अध्यक्ष धीरेन्द्र तामाङको भूमिका पनि उत्तिकै शंकास्पद र आपात्तिजनक देखिएको छ। पीडितले न्याय माग्न खोज्दा अध्यक्ष तामाङले उल्टै हप्काउने, घटना ढाकछोप गर्न दबाब दिने र मिलापत्र गराउन खोजेको आरोप छ।

सरकारी वकिल कार्यालयले अध्यक्ष तामाङलाई मतियारको रूपमा नभई घटना ढाकछोप गर्न र पीडितलाई यातना दिन मुख्य भूमिका खेलेको भन्दै मुलुकी अपराध संहिताको दफा २२७ (क) बमोजिमको सजाय माग गरेको छ। उनी हाल फरार छन्।

पीडितले यसअघि नै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। तर, २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरी कार्यालयमा आगजनी हुँदा सक्कल मिसिल जलेर नष्ट भएको अभियोगपत्रमा उल्लेख छ।

प्रमाण नष्ट भए पनि पीडितको निरन्तरको प्रयास र स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका अन्य प्रमाणका आधारमा प्रहरीले पुनः अनुसन्धान अघि बढाएको थियो।

सरकारी वकिल कार्यालयले मुख्य प्रतिवादी सुमन श्रेष्ठलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिम ७ देखि १० वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको माग गरेको छ।

साथै, फरार प्रतिवादी धीरेन्द्र तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको मागदाबी लिइएको छ। पीडितलाई परेको मानसिक र आर्थिक क्षति बापत मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।

माघ २१, २०८२ बुधबार १४:४४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।