लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल-इस्लामको गोली हानी हत्या
त्रिपोली : लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल-इस्लाम गद्दाफीको मंगलबार गोली हानी हत्या गरिएको छ।
लिबियाली समाचार च्यानल ‘फवासेल’का अनुसार जिन्तान शहरस्थित उनको निवासमा प्रवेश गरी चार जना आक्रमणकारीले उनको हत्या गरेका हुन्।
सैफका वकिल खालिद अल-जैदी र राजनीतिक सल्लाहकार अब्दुल्ला ओथमानले सामाजिक सञ्जालमार्फत उनको मृत्युको पुष्टि गरेका छन्।
यद्यपि, हत्याको कारण र आक्रमणकारीको पहिचानबारे अहिलेसम्म कुनै जानकारी खुलाइएको छैन।
सैफ अल-इस्लामको मृत्युको स्थानलाई लिएर फरक-फरक दाबीहरू सार्वजनिक भएका छन्। उनकी बहिनीले दाबी गरेअनुसार सैफको मृत्यु लिबिया-अल्जेरिया सीमा नजिक भएको हो भनी बीबीसीले उल्लेख गरेको छ।
५३ वर्षीय सैफलाई कुनै समय पिता गद्दाफीको उत्तराधिकारी मानिन्थ्यो।
सन् १९७२ जुन २५ मा त्रिपोलीमा जन्मिएका सैफ अल-इस्लाम लामो समयसम्म पिता मुअम्मर गद्दाफीको राजनीतिक उत्तराधिकारीका रूपमा चिनिन्थे।
लन्डन स्कुल अफ इकोनोमिक्सबाट उच्च शिक्षा हासिल गरेका उनी गद्दाफी परिवारका सबैभन्दा शिक्षित र अन्तर्राष्ट्रिय स्तरमा परिचित अनुहार थिए।
सन् २००० को दशकमा उनले आफूलाई सुधारवादी नेताका रूपमा प्रस्तुत गर्दै पश्चिमी देशहरूसँग लिबियाको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।
कुनै आधिकारिक पद नसम्हाले पनि उनी पितापछि देशका दोस्रो शक्तिशाली व्यक्ति मानिन्थे।
सन् २०११ मा गद्दाफी शासनविरुद्ध भएको विद्रोह (अरब स्प्रिङ) का क्रममा सैफले पिताको पूर्ण समर्थन गर्दै विद्रोह दबाउने प्रयास गरेका थिए।
उनले विद्रोहीहरूलाई मुसाको संज्ञा दिँदै अन्तिम गोली बाँकी रहँदासम्म लड्ने चेतावनी दिएका थिए।
सोही क्रान्तिमा उनका पिता मुअम्मर गद्दाफी मारिए भने सैफ भाग्ने क्रममा पक्राउ परेका थिए। सन् २०११ को नोभेम्बरमा जिन्तान सहरको मिलिसियाले उनलाई गिरफ्तार गरेको थियो।
पछि सन् २०१५ मा लिबियाको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। उनले सन् २०२१ को राष्ट्रपति चुनावमा भाग लिन नाम दर्तासमेत गराएका थिए।
माघ २१, २०८२ बुधबार १३:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।