खाना पकाउने ग्यास मागभन्दा २५ बुलेट बढी आयात भइरहेको निगमको दाबी
काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बजारमा खाना पकाउने ग्यासको अभाव नभएको स्पष्ट पारेका छन्।
पछिल्लो समय ग्यास अभाव हुन लागेको भन्दै चलेको हल्ला निराधार रहेको बताउँदै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भट्टले ग्यासको आपूर्ति प्रणाली सहज र पर्याप्त रहेको बताए।
उनले दैनिक उपभोगको माग धान्न सक्ने गरी नियमित रूपमा ग्यास आयात भइरहेको दाबी गरेका छन्।
भट्टका अनुसार नेपालमा हाल दैनिक सरदर ९० बुलेट ग्यास (करिब १ लाख १४ हजार सिलिन्डर)को माग छ। तर, पछिल्ला दिनहरूमा मागभन्दा बढी परिमाणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ग्यास लोड भइरहेको छ।
उनले शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिन्डर), सोमबार ११५ बुलेट र मंगलबार १३२ बुलेट ग्यास लोड भएको उल्लेख गरे। तीमध्ये केही बुलेट नेपाल भित्रिसकेको र केही बाटोमा रहेका छन्।
आपूर्ति सहज रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन्। साथै, आसन्न निर्वाचनको अवधिमा पनि हालकै परिमाणमा ग्यास आपूर्ति निरन्तर रहने निगमले स्पष्ट पारेको छ।
माघ २१, २०८२ बुधबार ११:३३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।