बुटवल मेडिकल कलेज निर्माणका लागि रुख कटान आदेश प्राप्त
बुटवल : लुम्बिनी प्रदेशकै गौरवको आयोजना मानिएको बुटवल मेडिकल कलेज निर्माण प्रक्रियाले अन्ततः गति लिने भएको छ।
स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्याउने र गुणस्तरीय स्वास्थ्य संस्था स्थापना गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमामा बन्न लागेको यस कलेजको पूर्वाधार निर्माणका लागि लामो समयदेखि अल्झिएको रुख कटानको आदेश प्राप्त भएको छ।
‘एक प्रदेश एक मेडिकल कलेज’को सरकारी अवधारणाअनुरुप आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत अघि सारिएको यो योजना वनको जग्गा र रुख कटानको प्रक्रियामा अल्झिएको थियो।
तर, वन मन्त्रालयबाट रुख कटानको औपचारिक आदेश आएसँगै यसै आर्थिक वर्षदेखि पूर्वाधार निर्माणको काम सुरु हुने निश्चित भएको छ।
बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाका शाखा अधिकृत चुरामणि मरासिनीका अनुसार पहिलो चरणको कामका लागि आवश्यक कानुनी बाटो खुलेको छ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय व्यवस्थापन मूल्याङ्कन (ईआईए) प्रतिवेदनअनुसार मेडिकल कलेज निर्माणस्थलमा साना-ठूला गरी कुल ११ हजार २ सय ३० वटा रुख काट्नुपर्ने देखिएको छ।
तीमध्ये पहिलो चरणमा ८ सय ५४ वटा रुखको छपान कार्य सम्पन्न गरी स्वीकृतिका लागि वन मन्त्रालय पठाइएको थियो। मन्त्रालयले गत मंसिर २४ गते नै कटानको निर्णय गरेर आदेश पठाइसकेको छ।
अधिकृत मरासिनीले भने, ‘रुख कटानको आदेश आए पनि यसको प्रक्रिया मिलाउन निकै कठिन भयो। अहिले निर्वाचन आचारसंहिताका कारण फाइल अर्थ मन्त्रालयमा रोकिएको छ। निर्वाचन लगत्तै अर्थबाट सहमति लिएर काम अघि बढ्छ।’
कटान स्वीकृत भएका रुखहरू कसले काट्ने भन्ने विषय टुंगो लाग्न बाँकी छ। शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले आफैँ काट्न पाउनुपर्ने माग राखेको छ भने आयोजनाले टेन्डरमार्फत जाने कि वनलाई दिने भन्ने विषय अर्थ मन्त्रालयको निर्णयपछि तय गर्ने जनाएको छ।
मेडिकल कलेज निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ। उक्त रकम मेडिकल कलेजले भोगाधिकार प्राप्त गरेको ५० बिघा क्षेत्रफलमा पर्खाल (बाउन्ड्री) लगाउन र एउटा प्रशासकिय भवन निर्माण गर्न खर्च गरिनेछ।
प्रारम्भिक चरणमा तिलोत्तमा नगरपालिका-१ र ८ मा पर्ने शंकरनगर र करहिया सामुदायिक वनको करिब दुई सय बिघा जमिनमा कलेज बनाउने योजना थियो।
तर, वनको भोगाधिकार प्राप्तिमा भएको ढिलाइ र सामुदायिक वनको असहमतिपछि हाल शंकरनगर सामुदायिक वनको ५० बिघा जग्गा मात्र प्राप्त भएको छ।
गत चैत २४ गते वन उपभोक्ता समूहको विशेष साधारणसभाले ५० बिघा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेपछि जग्गा प्राप्ति सहज भएको हो।
एक हजार बेडको लक्ष्य, ६ सयबाट सुरु
आयोजनाको डीपीआर स्वीकृतिको अन्तिम चरणमा छ। गुरुयोजनाअनुसार मेडिकल कलेज पूर्ण क्षमतामा सञ्चालन हुँदा एक हजार बेडको हुनेछ। तर, हाल उपलब्ध ५० बिघा जग्गामा ६ सय बेडको अस्पताल निर्माण गरेर सेवा सुरु गर्ने तयारी गरिएको छ।
‘एक हजार बेडको अस्पताल बनाउँदा कलेज भवन, आवास, होस्टल, स्कुल, कम्युनिटी हल, स्विमिङ पुल, हेलिप्याड, बैंक र सपिङ कम्प्लेक्सजस्ता संरचना आवश्यक पर्छन्,’ मरासिनीले भने, ‘तर अहिले प्राप्त जग्गामा प्रशासनिक भवन र ६ सय बेडको अस्पताल संरचनाबाट काम थालिनेछ।’
भविष्यमा यस कलेजलाई मुटु र क्यान्सर रोगको उपचारका लागि विशिष्टीकृत अस्पतालका रूपमा विकास गर्ने योजनासमेत रहेको छ।
करिब १९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनाको २०७५ चैत ८ गते उद्घाटन भएको थियो। डीपीआर अध्ययनका लागि मात्रै २ करोड ८८ लाख रुपैयाँ खर्च भइसकेको छ। टेन्डर प्रक्रियामा प्रतिस्पर्धा हुँदा लागत घट्न सक्ने अपेक्षा आयोजनाको छ।
अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता प्रदान गरेमा र राष्ट्रिय योजना आयोगले यसलाई प्राथमिकतामा राखेमा आगामी ६ वर्षभित्र मेडिकल कलेजका सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
माघ २१, २०८२ बुधबार १०:३४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।