इरानमा महिला प्रदर्शनकारीमाथि चरम दमन : बलात्कारपछि पाठेघर निकाली मारियो, प्रमाण मेटाउन शव जलाइएको दाबी
एजेन्सी : इरानी-जर्मन पत्रकार मिशेल अब्दोल्लाहीले इरानी सरकारमाथि अत्यन्तै गम्भीर र डरलाग्दो आरोप लगाएका छन्।
उनका अनुसार, इरानी सुरक्षा बलले आन्दोलनकारी महिलाहरूको मनोबल गिराउन र समाजमा डर फैलाउन बलात्कार र अंगभंगलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ।
पत्रकार अब्दोल्लाहीले सामाजिक सञ्जालमार्फत दाबी गरेअनुसार, हिरासतमा रहेका महिलाहरूमाथि चरम क्रूरता गरिन्छ।
प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै उनले भनेका छन्- महिलाहरूको गर्भाशय निकालिदिने, टाउकोको छाला र कपाल उप्काउने तथा शरीरमा चुरोटले डाम्ने जस्ता अमानवीय यातना दिइने गरिएको छ।
यातनाको प्रमाण लुकाउन सुरक्षा बलले कतिपय शवहरूलाई जलाएर मात्र परिवारलाई बुझाउने वा बुझाउँदै नबुझाउने गरेको आरोप पनि उनले लगाएका छन्।
जर्मन अखबार ‘डाइ वेल्ट’ र बेलायती पत्रिका ‘द गार्डियन’ले पनि प्रदर्शनकारीहरूमाथि भएको यौन हिंसा र कुटपिटको पुष्टि गरेका छन्।
महँगीविरुद्धको आन्दोलन र नरसंहार
इरानमा हालैका प्रदर्शनहरू खासगरी महँगी र आर्थिक संकटका कारण सुरु भएका थिए। इरानी मुद्रा ‘रियाल’को मूल्य इतिहासकै न्यून स्तरमा पुगेपछि जनता सडकमा उत्रिएका थिए।
चिया, रोटी जस्ता दैनिक उपभोग्य वस्तुहरू समेत सर्वसाधारणको पहुँच बाहिर पुगेका छन्। यी प्रदर्शनहरूलाई दबाउन सरकारले इन्टरनेट बन्द गर्ने र सेना परिचालन गर्ने जस्ता कदम चालेको छ।
मृत्यु हुनेको संख्याबारे फरक-फरक तथ्यांक सार्वजनिक भएका छन्। सरकारले तीन हजार १ सय १७ जनाको मृत्यु भएको भनिरहँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पाँच हजारभन्दा बढी र मानव अधिकारवादी संस्थाहरूले करिब १२ हजार जना मारिएको दाबी गरेको छ।
महसा अमिनी र हिजाब विवाद
इरानमा यो दमनको शृङ्खला सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको मृत्युपछि झन् उग्र बनेको हो।
हिजाब ठीकसँग नलगाएको आरोपमा पक्राउ परेकी अमिनीको हिरासतमा कुटपिटका कारण मृत्यु भएको थियो। त्यसपछि इरानमा हिजाब विरोधी आन्दोलनले उग्र रूप लिएको थियो। जहाँ महिलाहरूले सार्वजनिक रूपमै हिजाब जलाएर र कपाल काटेर विरोध जनाएका थिए।
इरानमा महिलाका लागि कडा कानुनहरू लागू गरिएका छन्। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा महिलाहरूका लागि धेरै प्रतिबन्धात्मक कानुनहरू बनाइएका छन्।
कानुनमा सार्वजनिक ठाउँमा कपाल र घाँटी पूरै ढाकिने गरी हिजाब लगाउनु अनिवार्य छ। नलगाएमा जेल वा भारी जरिवाना हुन्छ। केटीको विवाहको न्यूनतम उमेर १३ वर्ष तोकिएको छ भने महिलाहरूलाई विदेश भ्रमणका लागि श्रीमान् वा बुबाको लिखित अनुमति आवश्यक पर्छ।
यसका अलावा अदालतमा एक जना पुरुषको गवाही बराबर दुई जना महिलाको गवाहीलाई मात्र मान्यता दिइन्छ भने सम्बन्धविच्छेद र सन्तानको संरक्षणमा पुरुषको अधिकार बढी हुन्छ।
अहिले इरानमा महिलाहरू यिनै विभेदकारी कानुन र सरकारको तानाशाही विरुद्ध ज्यानको बाजी थापेर लडिरहेका छन्।
माघ २०, २०८२ मंगलबार १३:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।