सुन्तला बिक्रीबाट सिगानामा भित्रियाे चार कराेड
बागलुङ : सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादनमा वृद्धि गरिरहेका छन्। यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा चार करोड भित्रिएको छ।
गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गरे।
खड्काले यस वर्ष उत्पादनसँगै सुन्तलाको मूल्य राम्रो पाएकामा खुसी व्यक्त गरे। यहाँका एक सयभन्दा बढी किसानले एक लाखदेखि सात लाखसम्म रकम गाउँ भित्र्याएको उनले बताए।
सुन्तला उत्पादनको तथ्याङ्क गणेश कृषि सहकारीले राख्दै आएको छ।
सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाडौँ र चितवनमा छ।
कोदो बारी र धान खेत मासेर यहाँका किसानले २०५० सालयता व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान अहिले धमाधम सुन्तलाखेती विस्तारमा छन्। सिगानाको बेँसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले सुन्तला लगाउने क्रम जारी छ।
गत वर्ष सुन्तला बिक्रीबाट तीन करोड ५० लाख भित्रिएको थियाे। सिगानामा गत वर्षको तुलनामा ५० लाखको सुन्तला उत्पादनमा वृद्धि भएको स्थानीय अगुवा शिवकुमार खड्काले बताए। गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो।
सिगानामा २५० भन्दा बढी किसानको सानादेखि ठुलो सुन्तला बगैँचा छ। यस वर्ष ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन सुुरु गरेका छन्।
सिगाना गाउँका साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन्। बगैँचा विस्तार र मलजलका कारण सुन्तलाखेती उत्पादन फस्टाउँदै गएको छ।
माघ २०, २०८२ मंगलबार ११:०३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।