मोरङमा पत्नीको हत्यापछि युवकले गरे आत्महत्या
मोरङ : मोरङको रंगेली नगरपालिकाका एक युवकले पत्निकाे हत्यापछि आत्महत्या गरेका छन्।
रंगेली नगरपालिका-५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली पुगेर पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन्।
घटनापछि उनले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार साेमबार बेलुका मुकेश रंगेली–५ धनपट्टीस्थित ससुराली पुगेका थिए। घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मुकेशले चक्कुले प्रहार गर्दा अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए। उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सकिने उल्लेख गरे।
माघ २०, २०८२ मंगलबार १०:४१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।