भारतविरुद्धको खेल बहिष्कार गर्दा पाकिस्तानको विश्वकप यात्रामा कस्तो असर पर्छ?

भारतविरुद्धको खेल बहिष्कार गर्दा पाकिस्तानको विश्वकप यात्रामा कस्तो असर पर्छ?

काठमाडौं : यही फेब्रुअरी ७ देखि सुरु हुन लागेको टी-२० विश्वकप क्रिकेटको माहोल तात्न थालेको छ। तर, प्रतियोगिता सुरु हुनुअघि नै एउटा ठूलो विवाद सतहमा आएको छ। पाकिस्तानले आफ्नो प्रतिद्वन्द्वी भारतविरुद्धको समूह चरणको खेल खेल्न अस्वीकार गरेको छ।

यो निर्णयसँगै विश्वभरका क्रिकेट समर्थकहरूको मनमा अनेकौं प्रश्न उब्जिएका छन्। के पाकिस्तानको यो निर्णयले उसको विश्वकप यात्रामा धक्का लाग्ला? यदि प्रतियोगिताको सेमिफाइनल वा फाइनलमा यी दुई टोलीको भेट भयो भने के पाकिस्तानले फेरि पनि नखेल्ने निर्णय गर्ला?

टी-२० विश्वकपका लागि भारत र पाकिस्तानलाई समूह ‘ए’ मा राखिएको छ। यो समूहमा अमेरिका, नामिबिया र नेदरल्यान्ड्स पनि छन्। नियमअनुसार हरेक समूहबाट शीर्ष दुई टोली सुपर-८ चरणका लागि छनोट हुनेछन्।

यदि भारत र पाकिस्तान दुवै सुपर-८ मा पुगे भने पनि उनीहरू फरक-फरक समूहमा पर्नेछन्। यसको अर्थ, समूह चरणपछि यी दुई टोलीको भेट केवल सेमिफाइनल वा फाइनलमा मात्र सम्भव छ।

नखेल्दा के हुन्छ असर?
अहिले सामाजिक सञ्जाल र क्रिकेट जगतमा पाकिस्तानले खेल बहिष्कार गर्दा हुने प्राविधिक असरबारे व्यापक चर्चा भइरहेको छ।

यदि पाकिस्तानले भारतसँग खेल्न मानेन भने, भारतलाई स्वतः विजेता घोषित गरिन्छ र भारतले २ अङ्क पाउँछ। पाकिस्तानले भने महत्त्वपूर्ण २ अङ्क गुमाउनेछ।

आईसीसीको धारा १६.१०.७ अनुसार, कुनै टोलीले खेल खेल्न अस्वीकार गरेमा बहिष्कार गर्ने टोलीको नेट रन रेट घटाइन्छ। यसले विपक्षी टोली भारतको रन रेटमा भने कुनै असर पर्दैन।

तसर्थ, पाकिस्तानलाई सुपर-८ मा पुग्नका लागि बाँकी रहेका अमेरिका, नामिबिया र नेदरल्यान्ड्स विरुद्धका खेलहरू फराकिलो अन्तरले जित्नुपर्ने बाध्यता हुनेछ।

के नकआउट चरणमा पनि बहिष्कार होला?

यो प्रश्नको जवाफमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का प्रवक्ता आमिर मीरले बीबीसीसँग भनेका छन्, ‘यसको निर्णय समय आएपछि गरिनेछ। र, यो निर्णय हामी (पीसीबी)ले होइन, सरकारले गर्नेछ।’

क्रिकेटमा बहिष्कारको लामो इतिहास
राजनीतिक कारणले खेल बहिष्कार गर्ने घटना क्रिकेटमा नयाँ होइन। आईसीसीका ठूला प्रतियोगिताहरूमा यसअघि पनि यस्ता घटनाहरू भएका छन्।

सन् १९७९ मा श्रीलङ्काले आईसीसी ट्रफी (विश्वकप छनोट)मा इजरायलविरुद्धको खेल बहिष्कार गरेको थियो। यसले गर्दा श्रीलङ्काले अङ्क गुमायो र विश्वकप छनोटबाट बाहिरिने जोखिम मोल्यो, यद्यपि पछि टोली छनोट हुन सफल भयो।

यस्तै सन् १९९६ को विश्वकपमा श्रीलङ्कामा गृहयुद्ध र बम विष्फोटको त्रास देखाउँदै अष्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलङ्का गएर खेल्न अस्वीकार गरेका थिए। ती खेलका अङ्क श्रीलङ्कालाई दिइयो। संयोगवश, पछि श्रीलङ्काले नै लाहोरमा भएको फाइनलमा अष्ट्रेलियालाई हराएर उपाधि जित्यो।

त्यसैगरी २००३ को विश्वकपमा जिम्बाब्वेमा मानव अधिकार हननको आरोप र सुरक्षा चिन्ता देखाउँदै इङ्गल्याण्डले जिम्बाब्वेसँग खेल्न अस्वीकार गर्यो। सोही प्रतियोगितामा न्युजिल्यान्डले पनि सुरक्षाको कारण देखाउँदै केन्या गएर खेल्न मानेन। नतिजा स्वरूप जिम्बाब्वे र केन्याले सित्तैमा अङ्क पाए।

यसका अलावा सन् १९८६ मा भारतले श्रीलङ्कामा तमिलमाथि भएको व्यवहारको विरोध गर्दै एसिया कप बहिष्कार गर्यो। १९९०–९१ मा 'कश्मीर विवाद' का कारण पाकिस्तानले एसिया कप खेलेन।

पछिल्लो तनाबको कारण: २०२५ को च्याम्पियन्स ट्रफी
अहिले पाकिस्तानले भारतविरुद्ध नखेल्ने कठोर निर्णय लिनुको पछाडि २०२५ को च्याम्पियन्स ट्रफीको घटनाक्रम जोडिएको छ।

करिब २९ वर्षपछि पाकिस्तानले च्याम्पियन्स ट्रफी आयोजना गर्ने मौका पाएको थियो। तर, भारतले सुरक्षा र सरकारी अनुमतिको कारण देखाउँदै पाकिस्तान जान अस्वीकार गर्यो। लामो रस्साकस्सीपछि भारतका खेलहरू दुबईमा गराइयो।

त्यतिबेला पाकिस्तानले महिला विश्वकपका खेलहरू राजनीतिक र सुरक्षाको कारण देखाउँदै न्युट्रल भेन्युमा खेलेको थियो। अहिले टी-२० विश्वकपमा देखिएको यो गतिरोध त्यसैको बदला वा कूटनीतिक दबाबको निरन्तरता मान्न सकिन्छ।

विश्लेषक के भन्छन्?
चर्चित क्रिकेट विश्लेषक तथा कमेन्टेटर ज्यारोड किम्बर भन्छन्, ‘खेलमा राजनीति मिसिनु हुँदैन भन्नु बेकारको कुरा हो। सत्य त के हो भने, राजनीतिले नै क्रिकेटको ओपनिङ ब्याटिङ गर्छ।’

किम्बरका अनुसार पानीबाट चिस्यान अलग गर्न नसकिएजस्तै क्रिकेटबाट राजनीति अलग गर्न सकिँदैन। १९औं शताब्दीदेखि नै क्रिकेटले राष्ट्र निर्माणमा भूमिका खेल्यो, र राजनीतिले यसलाई विभाजन गर्न खोज्यो।

अहिले क्रिकेट अर्बौं डलरको उद्योग बनेको छ। भारत र पाकिस्तानबीचको खेल विश्वकै सबैभन्दा धेरै हेरिने र आम्दानी हुने खेल हो। त्यसैले, खेल बहिष्कारको निर्णय केवल अङ्कसँग मात्र होइन, ठूलो आर्थिक नोक्सानीसँग पनि जोडिएको हुन्छ।

माघ २०, २०८२ मंगलबार ०८:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।