समानुपातिकको बन्दसूचीबाट हटाइयो ७६ उम्मेदवारको नाम

समानुपातिकको बन्दसूचीबाट हटाइयो ७६ उम्मेदवारको नाम

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेको समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ।

उम्मेदवारहरूको योग्यता नपुगेको, कानुनी प्रक्रिया पूरा नभएको र सम्बन्धित दलहरूले नै नाम हटाउन सिफारिस गरेका आधारमा आयोगले सोमबार उम्मेदवारको नाम हटायो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यताको छानबिन र विभिन्न दलबाट प्राप्त आधिकारिक जानकारीलाई आधार बनाएर नामावली परिमार्जन गर्यो। सूचीबाट हटाइएकामध्ये सबैभन्दा धेरै २५ जना उम्मेदवारको नाम प्रदेश सभा सदस्य निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत कायम रहेको पाइएको छ। कानुनी प्रावधानअनुसार प्रदेश सभाको समानुपातिक सूचीमा नाम रहेका व्यक्ति प्रतिनिधिसभाको उम्मेदवार हुन पाउँदैनन्।

यसैगरी, आर्थिक पारदर्शिता र कानुनी बन्देजका कारण पनि उल्लेख्य संख्यामा उम्मेदवारहरू बाहिरिएका छन्। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जनाको उम्मेदवारी खारेज भएको छ। उमेरको हद पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना र पिछडिएको क्षेत्रको मापदण्ड नपुगेका २ जना पनि बन्दसूचीबाट हटेका छन्।

राजनीतिक दलहरूको आन्तरिक सिफारिसका आधारमा पनि केही नामहरू हटाइएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार उर्मिला चौधरी र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ८ जना उम्मेदवारको नाम सम्बन्धित दलकै अनुरोधमा हटाइएको आयोगले जनाएको छ। ठूला दलतर्फ नेपाली कांग्रेसका रामसुन्दर महरा र एमालेका दलबहादुर गुरुङको नाम प्रदेश सभाको सूचीमा समेत दोहोरिएकाले प्रतिनिधिसभाको बन्दसूचीबाट हटाइएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सिटका लागि सुरुमा ३ हजार २ सय १३ जना उम्मेदवारको सूची सार्वजनिक गरिएको थियो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ५४ हजारभन्दा बढी मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ। आयोगले माघ ४ गते सार्वजनिक गरेको प्रारम्भिक सूचीमाथि दाबी विरोध र छानबिनको प्रक्रिया पुरा गरी अन्तिम निर्णय लिएको हो।

माघ १९, २०८२ सोमबार २१:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।