ग्यासको अभाव नरहेको निगमको दाबी, अनावश्यक भण्डारण नगर्न उद्योगीलाई निर्देशन
काठमाडौं : नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनायो।
निगमका अनुसार इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरूले आयात गरेका छन्। यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो।
निगमका अनुसार उक्त परिणामको ग्यास जाडोयामको माग धान्न पुग्छ। हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साबिकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनले जानकारी दिए। आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत निगमले स्पष्ट पारेको छ।
माघ १९, २०८२ सोमबार १८:४५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।