आन्दोलनरत पक्षलाई सरकारले भन्यो - 'कोरियाको रोजगारीमा नकारात्मक असर पर्न सक्छ'

आन्दोलनरत पक्षलाई सरकारले भन्यो - 'कोरियाको रोजगारीमा नकारात्मक असर पर्न सक्छ'

काठमाडौं : सरकारले दक्षिण कोरियाको रोजगारीमा नकारात्मक असर पर्न सक्नेतर्फ सचेत हुन आन्दोलनरत पक्षसँग आग्रह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर अनावश्यक रूपमा दबाब सिर्जना गर्दा दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने औँल्यायो।

केही समयदेखि रोस्टरमा रही दक्षिण कोरिया जान प्रतीक्षामा रहेका तथा रोस्टर अवधि समाप्त भएका व्यक्तिहरूले ईपीएस कार्यालय तथा सीबीटी/ युबीटी हाल भैंसेपाटी अगाडि धर्ना, जुलुस र आन्दोलन गरिरहेका छन्।

रोस्टर अवधि थप, रोस्टरमा भएको ९० प्रतिशत उर्तिण भएकालाई रोजगारी सुनिश्चितता, फस्ट कम फस्ट सर्भिस अनुसार रोजगारीको प्रबन्ध मिलाउनुपर्ने, रोस्टरमा रहेकालाई प्रथम प्राथमिकता दिनुपर्ने, सेक्टर परिवर्तन गराउनु पर्ने र हरेक उर्तिण भएकाको कम्तीमा २० देखि २५ पटकसम्म रोजगारदाताको मागसँग कामको मिलान सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ।

उक्त मागप्रति आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। "यस विषयमा (आन्दोलनकारीको माग) समस्या समाधानको पहल भइरहेकोले मित्र राष्ट्र दक्षिण कोरियासँगको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने छ," विज्ञप्तिमा उल्लेख छ, "भविष्यमा नेपाली श्रमिकको रोजगारीमा नकारात्मक असर पर्न सक्ने भएको हुँदा अनावश्यक दबाब सिर्जना लगायतका गतिविधि नगर्न, नगराउनु हुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ।"

आन्दोलनरत पक्षका माग सम्बोधन गर्न कूटनीतिक र प्रशासनिक प्रयासहरू भइरहेको मन्त्रालयले जनाएको छ। इपिएस कोरिया शाखा, वैदेशिक रोजगार विभाग र दक्षिण कोरियास्थित नेपाली राजदूतावासमार्फत कोरियाको एचआरडी सेवासँग निरन्तर संवाद भइरहेको जनाएको छ। परीक्षार्थीका प्रतिनिधिहरूसँग गत पुस १८ गते भएको सहमति अनुरूप मन्त्रालयले दक्षिण कोरिया सरकारसँग वार्ताका लागि कूटनीतिक पत्राचार गरिसकेको छ।

मन्त्रालयले कोरियाले ईपीएस प्रणाली लागू भएका विश्वका सबै मुलुकहरूमा एकरूपतापूर्वक लागू भएको जानकारी प्राप्त भएको पनि जनाएको छ। साथै, रोजगारीका लागि हुने ‘जब म्याचिङ’ प्रक्रिया पूर्णतः स्वचालित अनलाइन प्रणालीमार्फत हुने र यसमा कुनै पनि व्यक्ति वा निकायले हस्तक्षेप गर्न नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ। कोरियाली प्रणाली पारदर्शी र विश्वसनीय रहेको भन्दै यसमा शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ। 

माघ १९, २०८२ सोमबार १५:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।