क्षमा माग्दै पत्र पठाउन थाले शेखर कोइराला

क्षमा माग्दै पत्र पठाउन थाले शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातालाई पत्र लेख्न थालेका छन्। पत्रमा उनले विगतमा अपेक्षाअनुसार काम गर्न नसकेको भए आफू क्षमाप्रार्थी रहेको उल्लेख गरेका छन्।

कोइरालाले भनेका छन्, “मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु।”

उनले देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक जीवन र विकासका मुद्दाहरूलाई गम्भीरताका साथ उठाएको बताएका छन्। बिपी कोइरालाको 'राष्ट्रिय मेलमिलाप' र 'मध्यमार्गी धार' प्रति विचलित नभई आफू त्यसमा अडिग रहेको उनले स्पष्ट पारे।

"राष्ट्रिय राजनीतिमा आएको संवैधानिक समस्या र त्यसबाट उत्पन्न राजनीतिक परिस्थितिले कांग्रेसको आन्तरिक जीवनमा ल्याएको हलचल तपाई सामु नै छ," उनले भनेका छन्, "मूल्यहीनताको राजनीति, पार्टी एकता विपरीत गतिविधि र नेपाली-नेपालीहरूबीच सामाजिक जीवनमा उत्पन्न कुनै पनि द्वन्द्व, विचलन र विभाजनको पक्षमा नउभिन तपाईँले सधैँ सल्लाह र सुझाव दिनुभएको म आज पनि स्मरण गर्दछु।"

विकासका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै कोइरालाले भ्रष्टाचार निर्मूल पार्नु नै आफ्नो प्रमुख मान्यता रहेको बताए। विगत लामो समयदेखि पार्टीभित्र र बाहिर सार्वजनिक मञ्चहरूमा भ्रष्टाचार र बेथितिका विरुद्ध आफूले आवाज उठाउँदै आएको उनको भनाई छ। 

निर्वाचनलाई एउटा प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गर्दै कोइरालाले आगामी चुनावलाई भावी पुस्ताको स्वतन्त्रता र समृद्धिसँग जोडे। उनले भनेका छन्, "एक पटक हामी सबै एकताबद्ध भएर भावी पुस्ताले देशभित्रै आफ्नो स्वर्णिम भविष्य देख्न सक्ने नेपाल निर्माणमा जुटौं!" 

माघ १९, २०८२ सोमबार १५:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।