पाकिस्तानले भारतसँग विश्वकप नखेल्ने विषयमा पहिलो पटक बोल्यो बीसीसीआई

पाकिस्तानले भारतसँग विश्वकप नखेल्ने विषयमा पहिलो पटक बोल्यो बीसीसीआई

एजेन्सी : आगामी टी-२० विश्वकपमा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएको छ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले यस विषयमा बोल्दै आफूहरू अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को धारणासँग सहमत रहेको बताएका छन्।

‘आईसीसीले खेल भावनाका बारेमा जुन बयान जारी गरेको छ, हामी त्यससँग पूर्ण रूपमा सहमत छौँ,’ शुक्लाले भने, ‘आईसीसीसँग थप छलफल नभएसम्म बीसीसीआईले यस मामिलामा अरू कुनै टिप्पणी गर्ने छैन।’

यसैबीच, आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई यस निर्णयका बारेमा चेतावनी दिएको छ।

आईसीसीले पाकिस्तानको यो कदमले भविष्यमा 'गम्भीर परिणाम' निम्त्याउन सक्ने भन्दै सबै पक्षको हित हुने गरी आपसी सहमतिमा समाधान खोज्न आग्रह गरेको छ।

पाकिस्तान सरकारले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने भनिएको विश्वकपको खेल नखेल्ने घोषणा गरेको छ। भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेको यो विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्ने तालिका छ।

राजनीतिक तनावका कारण यी दुई देशबीच लामो समयदेखि द्विपक्षीय सिरिज भएको छैन। विश्वकप जस्तो ठूलो प्रतियोगितामा पनि पाकिस्तानले खेल बहिष्कार गर्ने घोषणा गरेपछि क्रिकेट जगतमा नयाँ हलचल पैदा भएको छ।

आईसीसीले भने खेल तालिका अनुसार नै प्रतियोगिता सम्पन्न गराउने प्रयास गरिरहेको छ।

माघ १९, २०८२ सोमबार १३:१९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।