भारतसँग टी-२० विश्वकप नखेल्ने निर्णयपछि पाकिस्तानी टोलीका कप्तान- ‘यो हाम्रो निर्णय हैन’
एजेन्सी : आगामी टी-२० विश्वकप २०२६ मा पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गर्यो।
यो घोषणापछि पाकिस्तानी क्रिकेट टोलीका कप्तान सलमान अली आगाले भारतसँग नखेल्ने निर्णय खेलाडीहरूको नभई सरकारको भएको स्पष्ट पारेका छन्।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आईसीसी टी-२० विश्वकप सुरु हुँदैछ।
पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्समार्फत पाकिस्तानी टोलीलाई विश्वकपमा सहभागी हुन अनुमति दिएको छ। तर, फेब्रुअरी १५ मा भारतसँग हुने तय भएको खेलमा भने पाकिस्तानी टोली मैदानमा नउत्रिने सरकारले जनाएको छ।
लाहोरमा आयोजित पत्रकार सम्मेलनमा कप्तान सलमान अली आगालाई यसबारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यो हाम्रो (खेलाडीहरूको) निर्णय होइन। त्यसमा हामीले केही गर्न सक्दैनौँ। हाम्रो सरकार र क्रिकेट बोर्डका अध्यक्षले हामीलाई जे निर्देशन दिनुहुन्छ, हामीले त्यही पालना गर्नुपर्छ।’
पाकिस्तान सरकारले प्रतियोगितामा टोली पठाउने तर भारतसँगको खेल मात्र नखेल्ने फरक किसिमको निर्णय लिएको हो। यसअघि पनि दुई देशबीचको राजनीतिक तनावका कारण क्रिकेट सम्बन्ध प्रभावित हुँदै आएको छ।
यो विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्दैछन्। कप्तान आगाका अनुसार खेलाडीहरू आफ्नो तर्फबाट तयार रहे पनि सरकारी नीति र बोर्डको आदेश अनुसार नै अघि बढ्नेछन्।
माघ १९, २०८२ सोमबार १२:१६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।