‘कसलाई भोट दिने?’ भनेर मतदाताको गोपनीयता भङ्ग गरे कारबाही गर्ने झापा प्रशासनको चेतावनी
झापा : जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा मतदाताको गोपनीयता भङ्ग हुने गरी सामग्री प्रसारण नगर्न आग्रह गरेको छ।
पछिल्लो समय युट्युब, फेसबुक तथा अनलाइन सञ्चारमाध्यमहरूले मतदातालाई ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ?’ भनी प्रश्न सोधेर भिडियो बनाउने र प्रसारण गर्ने गरेको पाइएपछि प्रशासनले यस्तो आग्रह गरेको हो।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृतद्वय तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल रोक्न सचेत गराएका हुन्।
अनुगमन अधिकृत प्रसाइँले सर्वसाधारण मतदातासँग दल, उम्मेदवार र चुनाव चिह्नबारे खुला रूपमा प्रश्न गर्दा मतदानको गोपनीयतासम्बन्धी अधिकार हनन भइरहेको गुनासो आएपछि सार्वजनिक सूचना जारी गरिएको बताए।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) ले मतदाताको गोपनीयता भङ्ग गर्ने कार्यलाई आचारसंहिता उल्लङ्घन मानेको छ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा कसैले अटेर गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य जारी राखेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
माघ १९, २०८२ सोमबार ०९:०५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।