राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता, अब दाङमै क्यान्सर उपचार सेवा विस्तार हुने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला क्यान्सर अस्पतालबीच सम्झौता, अब दाङमै क्यान्सर उपचार सेवा विस्तार हुने

काठमाडौं : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

अस्पतालमा भएको समझदारीमा बीपी कोइराला क्यान्सर अस्पतालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवाको विकासमा आवश्यक सहयोग गर्नेछ। यसअन्तर्गत मेडिकल, सर्जिकल र आँखा सम्बन्धी क्यान्सर सेवाहरू विस्तार गरिनेछ।

साथै, क्यान्सर अस्पतालले आफ्ना विशेषज्ञ टोलीलाई राप्तीमा पठाउनेछ। ती विशेषज्ञहरूको तलब सुविधा क्यान्सर अस्पतालले बेहोर्नेछ भने यातायात र स्थानीय बसोबासको व्यवस्था राप्ती प्रतिष्ठानले गर्नेछ।

यसका अलावा राप्ती प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू (डाक्टर तथा नर्स) ले बीपी कोइराला क्यान्सर अस्पतालमा गएर तालिम तथा ‘क्लिनिकल एक्सपोजर’ लिने समझदारी पत्रमा उल्लेख छ।

समझदारी पत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट कामु उपकुलपति प्रा. श्याम लम्साल र बीपी कोइराला क्यान्सर अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. शिवाजी पौडेलले हस्ताक्षर गरेका छन्।

यो सम्झौता १ फेब्रुअरी २०२६ देखि ३१ जनवरी २०२९ सम्म (३ वर्ष) का लागि मान्य हुनेछ र आपसी समझदारीमा समय थप गर्न सकिने जनाइएको छ।

माघ १९, २०८२ सोमबार ०८:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।