रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई विष्णु पौडेलको आग्रह, विकासमा सबैभन्दा ठूलो फड्को मार्ने दाबी
बुटवल : पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन्।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष पौडेलले आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ र ७ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै रुपन्देहीले विकासमा फड्को मार्ने समेत दाबी गरे।
“हामी विकासलाई नारा होइन, नतिजाबाट प्रमाणित गर्छौं, त्यसैले रुपन्देहीको समग्र विकासबारे विज्ञ योजनाविद्हरूले अध्ययन गर्नुपर्छ”,उनले भने।
पौडेलले विकासलाई भावनात्मक नारामा सीमित नगरी अध्ययन, योजना र प्राथमिकतामा आधारित बनाइने स्पष्ट पारे। साथै उनले रुपन्देही–२ लाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको केन्द्रका रूपमा विकास गरिने बताए।
“हामी यो क्षेत्रलाई सबैभन्दा विकसित र व्यवस्थित जीवनशैलीको बस्ती बनाउँछौँ, यसका लागि स्पष्ट प्राथमिकता निर्धारण गरेर अघि बढ्छौँ,” पौडेलले भने।
प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौडेलले जानकारी दिए । “वडास्तरमै सडक, खानेपानी, ढल, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विकासका काम पूरा गर्ने गरी अगाडि बढ्छौँ,” उनले भने।
कार्यक्रममा पौडेलले तिनाउ नदी नियन्त्रण गरी बस्ती सुरक्षित गर्नुपर्ने स्थानीयको माग पूरा गरिने प्रतिबद्धता पनि गरे।
साथै सहुलियतपूर्ण ऋण लगानीमा करिब साढे दुई अर्ब रुपैयाँ लागतमा सिग्नेचर पुल निर्माणको काम अघि बढेको जानकारी दिए। “अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरूले पुलको डिजाइन गरिरहेका छन्, डिजाइन सकिएपछि टेन्डर प्रक्रिया अघि बढ्छ,” उनले भने, “यसका लागि बजेटको कुनै अभाव छैन, स्रोत सुनिश्चित भइसकेको छ”, उनले भने।
पौडेलका अनुसार निर्माण हुने सिग्नेचर पुलमा पाँच मिटर (९१६ फिट) चौडा फुटपाथ, आकर्षक लाइटिङ प्रणाली रहनेछ। “यो पुल केवल आवतजावतको साधन होइन, हरेक साँझ र राति ८–१० हजार मानिसले अवलोकन गर्ने सहरको पहिचान बन्नेछ,” उनले भने।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यालय उद्घाटनसँगै रुपन्देही–२ मा एमालेको चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ।
माघ १८, २०८२ आइतबार १७:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।