विकासको बाटो कांग्रेसले कोर्छ : विनोद चौधरी
बर्दघाट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने बताएका छन्।
चुनावी प्रचारप्रसारद्वारा यहाँ आयोजित कार्यक्रममा चौधरीले युवा पुस्ताको भावना र परिवर्तनको मर्मलाई कांग्रेसले बुझिसकेको बताए। सुशासन कायम र भ्रष्टाचारको अन्त्य नै पार्टीको मुख्य एजेण्डा रहेको उनले स्पष्ट पारे।
चौधरीले भने, “मेरो मनमा कहिल्यै आग्रह-पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ।”
कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै उनले अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको उल्लेख गरे।
कार्यक्रममा सहभागी अन्य नेताहरूले कांग्रेस एकढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने भन्दै पार्टी एकतामा जोड दिए। कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै मतको रक्षा भएको उल्लेख गर्दै विश्वस्तरमा पहिचान बनाएका चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन सहज हुने विश्वास व्यक्त गरे।
“सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,” उनले भने। २०७९ को निर्वाचनमा चौधरी यसै क्षेत्रबाट निर्वाचित भएका थिए।
माघ १८, २०८२ आइतबार १३:००:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।