पश्चिमी वायुको आंशिक प्रभाव : उच्च भेगमा हिमपात, तराईमा कुहिरोको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो तराई भागका केही स्थानमा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधरणतया बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र अन्य भागमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
त्यसैगरी आइतबार राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधरणतया बादल लाग्ने छ भने अन्य भागमा मौसम सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
देशका तराई भागमा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन यस महाशाखाले अनुरोध गरेको छ।
माघ १८, २०८२ आइतबार ०७:२८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।