प्रतिस्पर्धीलाई ओलीको कटाक्ष : 'ठुटे सिङ लिएर सिंगौरी खेल्न आएका छन्'

प्रतिस्पर्धीलाई ओलीको कटाक्ष : 'ठुटे सिङ लिएर सिंगौरी खेल्न आएका छन्'

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट राजनीतिक दृष्टिकोण र बलियो सांगठनिक आधार नभएका शक्तिहरूले जनभावना सम्बोधन गर्न नसक्ने दाबी गरे। शनिबार काठमाडौंमा आयोजित ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले उद्देश्यविहीन राजनीतिक समूहहरूबाट मुलुकको विकास सम्भव नरहेको तर्क गरे।

ओलीले पछिल्लो समयमा केही शक्तिहरूले धरातलीय यथार्थ र जनतासँगको प्रत्यक्ष सम्बन्धभन्दा बाहिर रहेर गतिविधि गरिरहेको टिप्पणी गरे। त्यस्ता शक्तिहरूलाई ‘आकासे खेती’ को संज्ञा दिँदै उनले भने, “निश्चित संगठन, विचार र गन्तव्य नभएकाहरू जनतासम्म पुग्न सक्दैनन्। उनीहरू कहाँबाट सञ्चालित छन् र भोलि कहाँ पुग्छन् भन्ने कुनै टुंगो छैन।”

राजनीतिक दलहरूमा हुनुपर्ने न्यूनतम वैचारिक स्पष्टता नभएको उल्लेख गर्दै ओलीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर समाजमा भ्रम फैलाउने काम भइरहेको आरोप लगाए। “एउटा मोबाइलको भरमा देशमा हुँडलो मच्चाउने प्रयास भइरहेको छ,” उनले भने, “विचारविहीन र आधारहीन अभियानहरू ‘बतासे अण्डा’ जस्तै हुन्, जसबाट कुनै प्रतिफल प्राप्त हुँदैन।”

आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न पुगेका शक्तिप्रति लक्षित गर्दै उनले कटाक्ष गरे, “मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन्, सिंगौरी खेल्न। मैले धेरै केही भन्नु पर्दैन।” ओलीले विध्वंस, तोडफोड र लुटपाटलाई क्रान्तिको नाम दिएर महिमा गाउने प्रवृत्तिले देशलाई बलियो नबनाउने धारणा राखे।

उनले भने, “आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ। यस्ता कुराहरूलाई क्रान्ति भनेर महिमा गाइएको छ। र अरू माथि विभिन्न प्रकारको आरोप लगाएको छ। यी आकासे खेती हुन्।” एमालेलाई कमजोर बनाउन विभिन्न शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न निर्देशन दिए।

माघ १७, २०८२ शनिबार १७:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।