विदेशी चलखेल रोक्न नयाँ पार्टी निर्माण गरेको प्रचण्डको दाबी
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मुलुकमा विद्यमान राजनीतिक सङ्कट निकासको अनिवार्य प्रक्रियाका रूपमा चित्रण गरे।
राजधानीमा आयोजित ‘निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेला’लाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थिति ‘असाधारण’ रहेको उल्लेख गर्दै निर्वाचन नियमित प्रक्रिया नभई आकस्मिक राजनीतिक आवश्यकताको उपज भएको दाबी गरे।
जेनजी आन्दोलन र भदौ २४ को घटनापछि देश गम्भीर सङ्कटको भुमरीमा फसेको उल्लेख गर्दै उनले उक्त अस्थिरताबाट मुलुकलाई बाहिर निकाल्न निर्वाचन अपरिहार्य बनेको बताए।
"हामी निर्वाचनतिर अघि बढ्दैछौं, तर यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन होइन," प्रचण्डले भने, "असाधारण परिस्थितिमा आकस्मिक रूपमा आइपरेको निर्वाचन भएकाले यसलाई सामान्य रूपमा बुझ्नु हुँदैन।"
वैदेशिक चलखेल र दक्षिणपन्थी षडयन्त्रलाई परास्त गर्न नयाँ राष्ट्रिय शक्तिको आवश्यकता औँल्याउँदै उनले आफ्नो नेतृत्वमा ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माणको प्रक्रिया अघि बढाइएको बताए। यस अभियानमा हालसम्म २३ वटा राजनीतिक दलहरू गोलबद्ध भइसकेको उनको भनाइ छ।
उनले भने "निर्वाचन प्रक्रियालाई अगाडि बढाउनको लागि हामीले राष्ट्रमा एउटा नयाँ शक्तिको आवश्यकता, नयाँ एकताको आवश्यकता र सबै खाले प्रतिक्रियावादी र वैदेशिक चलखेल र षडयन्त्रलाई परास्त गर्नको लागि एउटा नयाँ पहलकदमीको आवश्यकता महशुस गरेर नै हामीले नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढायौं।"
अन्तरिम सरकारको सहजीकरणमा हुन लागेको निर्वाचनले दुर्घटनाग्रस्त अवस्थाबाट नेपाललाई जोगाउने दाबी गर्दै उनले नयाँ एकता र ध्रुवीकरणमार्फत अघि बढ्ने प्रतिबद्धता समेत गरे। फागुन २१ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनताको रक्षा र आन्तरिक सङ्कट समाधानको प्रस्थान विन्दु बनाउनुपर्नेमा उनको जोड छ।
उनले भने, ‘जेनजी आन्दोलनपछि २४ भाद्रको घटनापछि देश जुन संकटमा देखा पर्यो त्यो संकटबाट पार लगाउने एउटा प्रक्रियामा हामीसमेतको सहजिकरणबाट अन्तरिम सरकारले यो निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयास स्वरूप यो निर्वाचन अगाडि आएको छ।"
माघ १७, २०८२ शनिबार १७:३०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।