काठमाडौंका ज्येष्ठ नागरिकलाई राहत, महानगरको 'हेल्थ टोली' घर-घरमा

काठमाडौंका ज्येष्ठ नागरिकलाई राहत, महानगरको 'हेल्थ टोली' घर-घरमा

काठमाडौं : काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। 

विशेषगरी सन्तान विदेशमा भएका, आर्थिक अवस्था कमजोर भएका र अस्पतालसम्म पुग्न नसक्ने अशक्त वृद्ध वृद्धालाई लक्षित गरेर महानगरले आइतबारदेखि स्वास्थ्य सर्वेक्षण र उपचार सेवाको थालनी गर्दैछ।

यस अभियानका लागि महानगरले प्रशिक्षित नर्सिङ कर्मचारी, स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र डिजिटल तथ्याङ्क संकलनका लागि ट्याबलेटसहितको टोली परिचालनको तयारी गरिएको छ।

शारीरिक अशक्तता भएका, दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिन लागेको कामपाले जनाएको छ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले धेरैका सन्तान विदेशमा रहेकाले पनि ज्येष्ठ नागरिकहरूको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वास्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउन लागिएको बताइन्। उनले भनिन्, “आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौं, कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकले हाम्रा लागि पनि कोही रहेछन् र पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला।”

सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिएको छ, भने यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण पनि प्रदान गरिएको छ। कार्यक्रमबारे कामपाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार यो सेवामा औषधि व्यवस्थापन तथा पोषण परामर्श दिनुका साथै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरिने छ।

यसैगरी व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइनुका साथै सङ्कलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुने उनले बताए। 

माघ १७, २०८२ शनिबार १५:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।