गगनको दाबी : कांग्रेसमा नेताका अनुहार मात्र होइन, सोच र शैली पनि बदलिएको छ
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेतृत्वको अनुहार मात्र नबदलिई सोच, संकल्प र कार्यशैली पनि बदलिएको दाबी गरे। शनिवार आफ्नो पुरानो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ को पार्टी निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै उनले कांग्रेस बदलिनु भनेको नेताको अनुहार फेरिनु नभएर सोच , संकल्प र शैली समेत बदलिएको बताए।
उनले पार्टीमा नेताको अनुहार बदलिनु सामान्य प्रक्रिया रहेको भन्दै कांग्रेसले जसरी आफ्नो सोच र शैली बदलेको छ त्यसको परिणाम पनि बदलिएर नयाँ आउने बताए।
उनले नयाँ पुस्ताको भावनालाई आत्मसात् गर्दै पार्टी अब नयाँ जोसका साथ उभिएको र पार्टीले इतिहासको गौरवलाई जोगाउँदै नागरिकका नयाँ अपेक्षाहरूलाई पूरा गर्नुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर सुशासनलाई पार्टीको पहिलो एजेन्डा बनाउनुपर्ने, सिद्धान्तनिष्ठ राजनीतिलाई अगाडि बढाएर सत्ता र शक्तिको लोभमा सिद्धान्तमा सम्झौता नगरी बरु सत्ता छाड्न तयार हुने बताए।
उनले अबको पुस्ताको माग भद्दा सङ्गठनभन्दा पनि 'स्मार्ट' र 'एफिसेन्ट' पार्टी रहेको भन्दै आफ्नो लक्ष्य त्यही रहेको बताए। अहिलेको युवा पुस्ताले पार्टीलाई केवल इलेक्सन मेसिनका रूपमा मात्र नभई जनताको आवाज सुन्ने जीवन्त संस्थाका रूपमा हेर्न चाहेको थापाको भनाइ थियो।
"नौजवानहरू चाहन्छन् पार्टी हिजोको आन्दोलन जस्तो ऊर्जावान् होस्," उनले थपे।
उनले पुरानो कांग्रेसका राम्रा पक्षलाई अङ्गीकार गर्दै नयाँ पुस्ताको माग बमोजिम पार्टीलाई आधुनिक र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरे। गगन काठमाडौं ४ बाट मधेस झरेपछि पार्टीले यस क्षेत्रमा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ।
स्थानीय तहको निर्वाचनबाट प्राइमरी इलेक्सन
उनले पार्टीको विशेष महाधिवेशन लगत्तै निर्वाचनको तयारीमा जुट्नु परेकाले प्राइमरी इलेक्सनबाट पार्टीका उम्मेदवार छान्न नसकेको दाबी गर्दै आगामि स्थानीय तहको निर्वाचन अगाडि नै पार्टीको नियमित महाधिवेशन हुने र त्यसपछिको सबै निर्वाचनमा पार्टीका उम्मेदवारहरु आन्तरिक निर्वाचन गरेर छान्ने दाबी गरे।
उनले वडादेखि नगरको निर्वाचनका लागि टिकट लिन सभापतीको घर धाउनु नपर्ने दाबी गर्दै भने "टिकटका लागि पार्टी सभापतीको घर धाउनु पर्दैन। तपाईँहरु आफ्नो उम्मेदवार आफैँ छान्नुस्। त्यसलाई पार्टीले अनुमोदन गर्छ।"
माघ १७, २०८२ शनिबार १५:०९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।