ट्रम्पको धम्कीपछि इरानले भन्यो- एक हजार ड्रोन तयार, जमिन र समुद्रबाट आक्रमण गर्न सक्षम
एजेन्सी : अमेरिका र इरानबीचको तनाव लगातार बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिँदै इरानले जमिन र समुद्रबाट आक्रमण गर्न सक्ने एक हजार वटा ड्रोन तयार रहेको बताएको छ।
यदि अमेरिकाले आक्रमण गरेमा उसका ड्रोन र मिसाइल नेटवर्कले ती आक्रमणलाई विफल पार्न सक्ने इरानी सेनाको दाबी छ। ट्रम्पले गत जनवरी २८ मा इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न भनेका थिए। त्यसो नगरे इरानमाथि पहिलेभन्दा खतरनाक आक्रमण हुने चेतावनी उनले दिएका थिए।
ट्रम्पको भनाइ अनुसार अमेरिकी युद्धपोतहरू इरानतर्फ अघि बढिरहेका छन् भने अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि सेना राष्ट्रपतिको जुनसुकै आदेश मान्न तयार रहेको बताएका छन्।
यसको जवाफमा इरानका सेना प्रमुख मेजर जनरल अमीर हातामीले गत वर्षको द्वन्द्वपछि सैन्य रणनीति बदलेको र ठूलो सङ्ख्यामा ड्रोन तयार गरेको बताएका छन्। यी ड्रोन जमिन र समुद्र दुवै ठाउँबाट सञ्चालन गर्न सकिन्छ।
इरानले कतारस्थित अमेरिकी अखडा र इजरायलमा मिसाइल तथा ड्रोन आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। इरानले हालै आफ्नो ड्रोनवाहक पानीजहाज ‘साहिद बाघेरी’ लाई समुद्रमा तैनाथ गरेको छ। युरोपेली युनियनले इरानको शक्तिशाली सैन्य बल ‘रिभोलुसनरी गार्ड’लाई आतंकवादी संगठन घोषणा गरेको छ।
इरानमा भएका प्रदर्शनहरूमा सरकारले गरेको दमनका कारण यो निर्णय लिइएको हो। इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली युनियनको यो निर्णयलाई ‘रणनीतिक गल्ती’ भनेका छन्। अष्ट्रेलिया, क्यानडा र अमेरिकाले यसअघि नै रिभोलुसनरी गार्डलाई आतंकवादी संगठन घोषणा गरिसकेका छन्।
तनावकै बीच इरानका विदेशमन्त्री अराघची शुक्रबार टर्की पुगेका छन्। त्यहाँ उनले समकक्षी हाकान फिदानसँग भेटवार्ता गरे। टर्कीले अमेरिका र इरानबीचको तनाव कम गर्न मध्यस्थताको प्रस्ताव गरेको छ। टर्कीले दुवै पक्षलाई वार्तामा आउन आग्रह गरेको छ।
अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ। अरब सागर र लाल सागरमा ‘युएसएस अब्राहम लिंकन’, ‘युएसएस थियोडोर रुजवेल्ट’ जस्ता विमानवाहक युद्धपोतहरू तैनाथ गरिएको छ। मध्यपूर्वमा अहिले करिब ३० देखि ४० हजार अमेरिकी सैनिक तैनाथ छन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकाल (२०१७-२०२१) मा इरानसँगको परमाणु सम्झौता भङ्ग गरेका थिए। अहिले फेरि ट्रम्प सत्तामा आएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ।
माघ १७, २०८२ शनिबार ०९:५५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।