खगेन्द्रको गाइको अभिव्यक्तिले चुनावी प्रचारमा असर परेपछि बल्ल बोल्यो रास्वपा, क्षमा माग्दै उम्मेदवारलाई गरायो सचेत
काठमाडौँ : राष्ट्रिय जनावर गाइबारे पार्टीका उम्मेदवार खगेन्द्र सुनारले दिएको अभियब्यक्तीले पार्टीको चुनाव प्रसारमा हिँडेका अन्य उम्मेदवारलाई अप्ठ्यारो परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक रूपमै आत्मालोचना गरेको छ।
जेनजी आन्दोलनपछि आफ्नै अध्यक्षतामा नयाँ दल गठन गरेका सुनार अन्तिममा रास्वपामा प्रवेश गरेर बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका थिए। उनले एक पडकास्टमा गाईबारे दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि सुनारले त्यसलाई एआइबाट बनेको भन्दै झुट बोलेका थिए। पार्टी मौन नै बसेको थियो।
तर सो पडकास्ट सक्कली भएको खुलेसँगै चुनाव प्रचारमा हिँडेका पार्टीका उम्मेदवारहरूलाई मतदाताहरूले सुनारको अभिव्यक्तिबारे प्रश्न गर्न थालेसँगै चुनावमै त्यसको नकारात्मक प्रभाव पर्न थालेपछि पार्टीले विज्ञप्ति निकाल्दै आत्मालोचना गर्दै खगेन्द्रलाई सचेत गराएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा व्यक्त चासोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सुनारले रास्वपामा जोडिनुअघि व्यक्त गरेका कतिपय अभिव्यक्तिले सामाजिक र धार्मिक-सांस्कृतिक भावनामा चोट पुगेको भन्दै क्षमायाचना गरेका छन्।
सुनारले आफू शाकाहारी भएको, कुनै पनि पशुपक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति आफ्नो पूर्ण सम्मान रहेको स्पष्ट पारेको दाबी गर्दै विज्ञप्तिमा सामाजिक सञ्जालमा कतिपय प्रसङ्गलाई तोडमोड गरी प्रचार गरिएको तर्क समेत गरेको छ।
पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराएको उल्लेख गर्दै सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नरहेकोमा पार्टी विश्वस्त रहेको दाबी गरिएको छ।
रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता र धार्मिक-सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्वलाई आफ्नो मूल मर्म मानेको र भोलिको संसद्मा संयमित र मर्यादित नेतृत्व पठाउन कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्वहरूको पक्षमा नरहेको दाबी समेत गरेको छ।
विज्ञप्तिमा रास्वपा सदैव विधिको शासन, सामाजिक न्याय र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहेको थप दाबी समेत गरेको छ।
निरन्तर विवादमा सुनार
दलित अधिकारको माग गर्दै माइतीघरमा निरन्तर हातमा नेल लगाएर विरोध प्रदर्शन गरेर चर्चामा आएका सुनार आफ्नो अभिव्यक्ति र व्यवहारका कारण पटक पटक विवादमा आउने गरेका छन्। २०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएपछि उनी दलित अधिकारको अभियानमा लागेका हुन्।
यस अगाडि उनी एक कानुन व्यवसायीमाथि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्दा विवादमा तानिएका थिए। उनी विरुद्ध काभ्रे जिल्ला अदालतमा साइवर अपराधको मुद्दा दायर भएको र कानुनतः उनी फरार सूचीमा रहेको खुल्यो। उनी विरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात सम्बन्धी मुद्दा समेत दायर भएको खुल्यो।जेनजी आन्दोलनपछि सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्रीमा सिफारिस भएका उनी यही विवादित गतिविधिका कारण अन्तिममा नाम काटिएको थियो।
नेपाली कांग्रेसका आबद्ध भएर राजनीतिमा समेत सक्रिय रहेका उनी कांग्रेसको महासमिति सदस्यमा समेत निर्वाचित भएका थिए। जेनजी आन्दोलनपछि पुराना दल भन्दै नेपाली कांग्रेस, एमाले अनि तत्कालीन माओवादी केन्द्र लगायतका पुराना दलको विपक्षमा माहोल बनेपछि उनले आफ्नै अध्यक्षतामा हाम्रो पार्टी नेपाल दर्ता गरेर बालेन्द्र शाह रास्वपामा प्रवेश गरेपछि उनी पनि रास्वपामा गएका थिए।
उनी एक्लै रास्वपामा गएका हुन् या उनको पार्टी नै रास्वपासँग एकीकृत भएको हो भन्ने न उनले खुलाएका छन् न त रास्वपाले नै। निर्वाचन आयोगमा दर्ता भएको पार्टीबीच एकताहुँदा केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्नुपर्छ। त्यसपछि आयोगलाई जानकारी दिएपछि कानुनी प्रक्रिया पुरा हुन्छ। बालेनकोतर्फबाट रास्वपामा २६ केन्द्रीय सदस्य मनोनितहुँदा उनी पनि त्यही समूहमा थिए।
माघ १६, २०८२ शुक्रबार २२:१०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।