रास्वपामाथि वर्षमानको आरोप ' राजनीतिक अजेण्डा र इतिहास नभएकाहरूको समूह'

रास्वपामाथि वर्षमानको आरोप ' राजनीतिक अजेण्डा र इतिहास नभएकाहरूको समूह'

ललितपुर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचारविहीनहरूको चौतारी भएको आरोप लगाए। पार्टीको ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रममा शुक्रवार बोल्दै उनले रास्वपा पार्टी नभई स्पष्ट विचार, दर्शन, राजनीति, एजेन्डा र इतिहास नभएकाहरूको समूह भएको आरोप लगाए।

‘पार्टी बन्न विचार, दर्शन, राजनीति, एजेण्ड संगठन र इतिहास चाहिन्छ। विचार के हो थाहा छैन, नीति के हो त्यो पनि थाहा छैन। इतिहास के हो त्यो पनि थाहा छैन। कोही कताबाट, कोही कताबाट आएको छ।  चौतारीमा भेटेर एक ठाउँ जम्मा भएको छ। नयाँ पार्टी भनेको छ’, पुनले भने। 

गत २०७९ को निर्वाचनमा पुराना दलसँग रिसाएका शहरी मतदाताले जिताएका ठाउँमा यसपटक रास्वपाको प्रभाव कमजोर देखिएको पुनको दाबी थियो। यसअघि रास्वपाले जितेका काठमाडौँको २, ६, ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको लहर घटेको र मतदाताले संगठन र विचार भएका राजनीतिक दललाई जिताउनुपर्ने महसुस गरेको उनको दाबी थियो।

उनले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवामा सक्नेले किन्ने, नसक्नेले हेरेर बस्ने भन्ने उदारवादी अर्थनीतिको पक्षमा रास्वपा रहेको दाबी गर्दै उनले अबको अर्थनीति नसक्नेलाई राज्यले हेर्ने बनाउनु पर्नेमा जोड दिएका थिए।

"हामीले समाजवादी अर्थनीतिको वकालत गरेका छौँ। राज्यले अभिभावकीय भूमिका खेल्ने अवस्थालाई हामीले समाजवाद भनेका हौँ,’ पुनले भने, ‘नसक्नेलाई राज्यले हुर्नुपर्छ भन्ने समाजवाद हो। गरिब छ, सीमान्तकृत छ, अपाङ्ग छ, जसको पहुँच राज्यमा छैन । उनीहरूलाई राज्यले हेर्नुपर्छ।" 

सामाजिक सञ्जालमार्फत पुराना दल र नेताहरूको हुर्मत लिएर रास्वपा उदाएको र यसको भविष्य लामो नभएको उनको दाबी थियो। उनले ५ दिनमा भ्रष्टाचार निर्मूल गर्छु भन्ने सुशीला कार्कीको नेतृत्वमा सरकार बने पनि ५ महिनासम्म केही नगरेको आरोप समेत लगाए। 

माघ १६, २०८२ शुक्रबार १८:२१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।