फ्राइडे रिलिज : हलमा दुई नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’

फ्राइडे रिलिज : हलमा दुई नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’

काठमाडौं : शुक्रबारबाट नेपाली सिनेमा हलहरूमा दुई फरक विधाका चलचित्र प्रदर्शनमा आएका छन्।

अभिनेत्री बेनिशा हमालको निर्माण तथा अभिनय रहेको ‘द ब्लू लाइट’ र चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘आ बाट आमा’ले आजदेखि व्यावसायिक प्रदर्शन आरम्भ गरेका हुन्।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’ पारिवारिक पृष्ठभूमि र सन्तानबीचको भावनात्मक सम्बन्धमा आधारित छ। फिल्मले विशेषगरी वैदेशिक रोजगारीको चाहना र त्यसले परिवारमा पार्ने प्रभावको कथा बोकेको छ।

फिल्ममा लामो समयपछि पर्दामा फर्किएकी अभिनेत्री विपना थापाका साथै चर्चित भारतीय अभिनेता प्रदीप रावत (गजनी फेम), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी र रवीन्द्र झा लगायतको अभिनय छ।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गानाले लगानी गरेका छन्।

त्यस्तै, अर्को प्रतीक्षित फिल्म ‘द ब्लू लाइट’ साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको छ। बलिराम चौहानको डेब्यु निर्देशन रहेको यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको मुख्य भूमिका छ। यस फिल्मलाई निर्देशक चौहान स्वयंले लेखेका हुन्।

प्रदर्शनको पहिलो दिन शो बाँडफाँडमा ‘आ बाट आमा’ हाबी देखिएको छ। देशभरका हलहरूमा यसले १३८ शो प्राप्त गरेको छ भने ‘द ब्लू लाइट’ ले ६१ शो पाएको छ।

दुवै फिल्म फरक शैली र विषयवस्तुमा बनेकाले दर्शकको रोजाइ पनि भिन्न हुनसक्ने अनुमान गरिएको छ। 'आ बाट आमा' ले पारिवारिक दर्शकलाई तान्ने अपेक्षा गरिएको छ भने 'द ब्लू लाइट' ले थ्रिलर र प्रयोगधर्मी फिल्म मन पराउने युवा पुस्तालाई आकर्षित गर्न सक्छ।
 

माघ १६, २०८२ शुक्रबार १२:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।