अछाममा बालेन साहसँगै रहेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

अछाममा बालेन साहसँगै रहेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
फाइल तस्बिर

काठमाडौं : चुनावी अभियानका क्रममा अछाम पुगेका दिनेश सिटौला अचानक बेहोस भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ।

सिटौला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टोलीसँगै अछाम पुगेका थिए। नुवाकोट घर भएका ४३ वर्षीय सिटौला गएराति अछामको सदरमुकाम मंगलसैन आइपुगेका थिए।

शुक्रबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएर उनी बेहोस भएपछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसैनमा भर्ना गरिएको थियो।

अस्पतालमा उपचार गर्दा पनि लामो समयसम्म उनको होस नखुलेपछि थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको थियो।

हेलिकप्टरले उनलाई बिहान ११ बजेतिर मंगलसैनबाट उद्धार गरी काठमाडौं लगेको अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञबहादुर बुढाले उकेरालाई जानकारी दिए।

सिटौला बालेन शाहको टोलीसँगै मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका रहेको थियो। सिटौलाको स्वास्थ्य अवस्था र बेहोस हुनुको कारणबारे विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।

माघ १६, २०८२ शुक्रबार १२:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।