बर्दियामा विद्यालय भवनको बिल पास गराउन डेढ लाख घुस लिने इन्जिनियर पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका एक इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ।
नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई बिहीबार १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर मल्लले बारबर्दिया नगरपालिका-७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए।
सूचनाका आधारमा आयोगको कार्यालय बुटवल (सम्पर्क कार्यालय नेपालगञ्ज) बाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
माघ १६, २०८२ शुक्रबार ०९:५१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।