फागुन २१ को निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक, उम्मेदवारको सङ्ख्याका आधारमा आकार फरक पर्ने
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रको नमूना सार्वजनिक गरेको छ।
आयोगले सातवटै प्रदेशका जिल्ला र निर्वाचन क्षेत्रअनुसार फरक-फरक मतपत्रको नमूना सार्वजनिक गरेको हो।
आयोगका अनुसार निर्वाचन क्षेत्र र उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार निर्धारण गरिएको छ।
धेरै उम्मेदवार भएका क्षेत्रमा मतपत्रको आकार ठूलो र थोरै उम्मेदवार भएका क्षेत्रमा सानो हुनेछ। सबैभन्दा बढी निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौँको मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो हुनेछ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक-एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई-दुईवटा निर्वाचन क्षेत्र छन्।
यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक-एक निर्वाचन क्षेत्र छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र कायम छन्।
आयोगले यी जिल्लाहरूको वास्तविक मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ भने अन्य जिल्लाको पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।
हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम भइरहेको छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको र प्रत्यक्षतर्फको छपाइ जारी रहेको जनाएको छ।
यसैगरी, आयोगले मतदाता शिक्षाका लागि नमूना मतपत्र प्रयोग गरी सचेतना कार्यक्रम अघि बढाएको छ। तयार पारिएका नमूना मतपत्रहरू विभिन्न मतदान केन्द्रमा पुर्याउने काम भइरहेको आयोगले जनाएको छ।
माघ १६, २०८२ शुक्रबार ०७:३६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।