निर्वाचनको सुरक्षामा कसैसँग सम्झौता हुन्न : गृहमन्त्री अर्याल
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताए। निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा उनले भयरहित निर्वाचनको वातावरण बनाउनका लागि सरकारले कुनै शक्तिसँग सम्झौता नगर्ने बताएका हुन्।
बिहीबार अर्याल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारीसँग छलफल गर्न निर्वाचन आयोगमा गएका थिए। छलफलमा आयोगका अधिकारीहरूले शान्ती सुरक्षाको अवस्थाबारे चासो राखेपछि उनले निर्वाचन सुरक्षा बलियो बनाउन सरकार सक्रिय रहेको र भयमुक्त वातावरणमा निर्वाचन गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताए।
उनले उम्मेदवारदेखि मतदातासम्मको सुरक्षाको प्रबन्ध गरिएको र निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको सुरक्षाका लागि भरपर्दो व्यवस्था मिलाएको बताएका थिए। उनले सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुनेगरी सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको बताएका थिए।
अर्यालले आपराधिक तथा निर्वाचन विरोधी गतिविधि गर्नेमाथि शून्य सहनशीलताको नीति लिएर काम गर्न स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको र सरकारले पनि त्यही अनुसार तयारी गरेको जानकारी दिएका थिए।
माघ १५, २०८२ बिहीबार १८:१२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।