विवाहेतर सम्बन्धले निम्त्यायो परिवारको कत्लेआम : प्रेमीसँग मिलेर श्रीमान् र सासूको हत्या
काठमाडौं : विवाहेतर सम्बन्ध कारण बाराको परवानीपुरमा एक परिवारका दुई जनाको बीभत्स हत्या भएको घटनामा दुई जना पक्राउ परेका छन्। प्रहरीले उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा मृतककी श्रीमती र उनका प्रेमी भनिएका व्यक्तिलाई पक्राउ गरेको हो।
बुधबार बिहान परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेका परिवारमाथि अन्धाधुन्ध चक्कु प्रहार दुई जनाको मृत्यु भएको भयो भने दुई जना गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार बीभत्स हत्याको मुख्य कारण मृतक ३१ वर्षीय राम ईश्वर मण्डलकी श्रीमती २३ वर्षीया मनिता देवी मण्डल र बारा प्रसौनीका २७ वर्षीय धर्मेन्द्र महतो धानुकबीचको विवाहेतर सम्बन्ध हो। उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा पटक-पटक विवाद हुने गरेको थियो। सोही सम्बन्धको बाधक बनेको भन्दै परिवारका सदस्यहरूलाई नै सिध्याउने योजना बनेको प्रहरीले जनाएको छ।
हत्याका मुख्य अभियुक्त मानिएका धर्मेन्द्र वैदेशिक रोजगारीका लागि युएईमा थिए। उनी यही माघ ११ गते मात्र नेपाल फर्किएका थिए। तर, उनी आफ्नो घरपरिवारको सम्पर्कमा नगई मनितासँग मिलेर हत्याको योजना बुन्न सक्रिय रहेको खुलेको छ।
माघ १४ गते बिहान करिब २ बजेको समयमा उनी मण्डलको घरमा प्रवेश गरेका थिए। उनले सुतिरहेका परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गरे। आक्रमणबाट ३१ वर्षीय राम ईश्वर मण्डल र उनकी आमा ४६ वर्षीया सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भयो।
यस्तै, जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भए। घाइतेहरूको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमाण्डमा घटनास्थल पुगेको विशेष अनुसन्धान टोलीले अनुसन्धानको क्रममा मनिता देवी र धर्मेन्द्रको संलग्नता पुष्टि गर्यो।
मनिता देवीलाई अस्पतालमा उपचार पश्चात् नियन्त्रणमा लिइएको छ भने अर्का अभियुक्त धर्मेन्द्रलाई विश्रामपुर गाउँपालिका- ४ मुसहर्वाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गर्यो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठायो। पक्राउ परेका दुवै जनालाई 'ज्यान सम्बन्धी कसुर' मा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ १५, २०८२ बिहीबार १७:१६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।