कांग्रेसको प्रधानमन्त्रीका उम्मेदवार माघ १ वाला हो : उपसभापति शर्मा
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले समाजको निराशा र जेनजी आन्दोलनको सन्देशलाई आत्मसाथ गर्दै आफूलाई जबरजस्त रूपान्तरण गरेर मैदानमा आएको दाबी गरेका छन्।
रामेछापमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र रास्वपा नेता बालेन शाहप्रति लक्षित गर्दै शर्माले भने, ‘अहिले प्रधानमन्त्रीका उम्मेदवारहरू कसैले भदौ २३ को मात्र कुरा गर्छन्, कसैले २४ को। तर, कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार ‘माघ १’ वाला हो। विगतका कमजोरी महसुस गरेर, क्षमा मागेर र आफूलाई बदलेर कांग्रेस नयाँ युगमा प्रवेश गरेको छ।’
उनले कांग्रेसले अघि सारेको नेतृत्व नयाँ पुस्ता र सन्दर्भको असली प्रतिनिधि भएको दाबी गरे।
उपसभापति शर्माले यसपटक कांग्रेसले उम्मेदवार चयनमा बोल्ड निर्णय गरेको बताए।
‘१६५ क्षेत्रमध्ये १०६ ठाउँमा हामीले नयाँ अनुहारलाई टिकट दिएका छौँ,’ उनले भने, ‘पार्टीभित्र जबरजस्ती रूपान्तरणको प्रयास थालेका छौँ।’
गठबन्धनका कारण विगतमा खुम्चिएको कांग्रेस अहिले फैलिएको उनको तर्क थियो।
‘कांग्रेसीले भोट हाल्न अर्को पार्टीको चिन्ह खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ,’ शर्माले भने, ‘देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने एक्लो पार्टी कांग्रेस हो। जहाँ हेर्यो त्यहीँ 'रुख' छ, अरू दल हाम्रा प्रतिस्पर्धी नै होइनन्।’
माघ १५, २०८२ बिहीबार १३:२६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।