विदेशको पीआर र सु:खद् भविष्यको सपना : १८ वर्षीया ‘सन्ध्या’सँग स्न्यापच्याटमा जोडिएको सम्बन्ध बलात्कारमा टुंगिएपछि...
काठमाडौं : हातमा स्मार्ट फोन, सामाजिक सञ्जालमा रंगीन दुनियाँ र भविष्यका सुनौला सपना। १८ वर्षकी एक नर्सिङ विद्यार्थीको दैनिकी यही सेरोफेरोमा घुमिरहेको थियो। तर, उनको त्यो सरल जीवनमा ‘स्न्यापच्याट’ मार्फत जोडिन आइपुगेको एउटा नामले आँधी ल्याइदियो। त्यो नाम थियो- ‘मनोज गुरुङ’।
बेलायतको प्रतिष्ठित नागरिक, थाई रेस्टुरेन्टको म्यानेजर र अविवाहित युवाको आवरणमा जोडिएको त्यो सम्बन्ध अन्ततः बलात्कार र धोकाधडीको एउटा कहालीलाग्दो घटनामा परिणत भयो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रले एउटा यस्तो ‘डिजिटल लभ’को पर्दाफास गरेको छ, जहाँ विश्वासको जगमा अपराधको महल खडा गरिएको थियो।
स्न्यापच्याटमा चिनजान अनि ह्वाट्सएपमा कुराकानी
घटनाको सुरुवात करिब ५ महिना अघिदेखि हुन्छ। काठमाडौंमा डेरा गरी बस्ने १८ वर्षीया सन्ध्या (परिवर्तित नाम)को चिनजान स्न्यापच्याटमार्फत एक युवकसँग भयो।
ती युवकले आफ्नो नाम ‘मनोज गुरुङ’ बताए। घर पोखरा र हाल बेलायतको नागरिक रहेको, त्यहाँको एक थाई रेस्टुरेन्टमा म्यानेजरको रूपमा काम गर्ने र आफू अविवाहित रहेको भन्दै उनले सन्ध्यालाई विश्वासमा पारे।
म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका-१ घर भई हाल बेलायतको ‘एशफोर्ड केन्ट’ बस्ने ३५ वर्षीय जीवन छन्त्यालले आफ्नो वास्तविक नाम र थर लुकाएर ‘मनोज गुरुङ’ को नक्कली परिचय बनाएका थिए।
ह्वाट्सएप र भाइबरमा घण्टौ चल्ने कुराकानी, बेलायतको सुखद् जीवनको वर्णन र प्रेमको मीठो आश्वासनले १८ वर्षीया सन्ध्याको मन पग्लियो। ३५ वर्षीय जीवनले सन्ध्यालाई विवाहको प्रलोभन मात्र देखाएनन्, नेपाल आएपछि ‘इन्गेजमेन्ट’ गर्ने वाचासमेत गरे।
सन्ध्याको उमेर १८ वर्ष मात्र भएकोले विवाह गर्ने कानुनी उमेर नपुगेको भन्दै सुरुमा सन्ध्या हच्किएकी थिइन्। तर, ‘नेपाल आएपछि इन्गेजमेन्ट गरौँला, उमेर पुगेपछि बिहे गरौँला’ भन्दै जीवनले उनलाई आश्वस्त पारे। यो कुरा सन्ध्याको आमासम्म पुग्यो। आमाले पनि छोरीको भविष्य राम्रो हुने ठानेर ‘नेपाल आएपछि भेटेर कुरा गरौँला’ भन्ने जवाफ दिइन्।
विमानस्थलको भेट र दुबईको ‘ट्रान्जिट’मा पुगेको म्यासेज
२०८२ मंसिर २१ गते। जीवन छन्त्याल (नक्कली मनोज) नेपाल ओर्लिए। उनलाई लिन सन्ध्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन्। पहिलो भेटमै जीवनले अर्को झुट बोले- ‘मेरो नेपालमा कोही आफन्त छैनन्, म एक हप्ताका लागि मात्र आएको हुँ, होटलमा किन बस्नु? तिम्रै कोठामा बस्छु।’
सन्ध्याको डेरामा बस्ने, आमासँग पनि भेट्ने र घुमघाम गर्ने योजना बन्यो। त्यसपछिका केही दिन उनीहरू काठमाडौंको नगरकोट, नुवाकोट लगायतका स्थानमा घुम्न गए। घुमघामकै क्रममा जीवनले शारीरिक सम्बन्धको प्रयास गरे, तर सन्ध्याले विवाह अगाडि त्यस्तो सम्बन्ध नराख्ने भन्दै इन्कार गरिन्।
घटनाको मुख्य मोड २०८२ मंसिर २६ गतेको रात आयो। दिनभर घुमेर त्रिपुरेश्वरस्थित सन्ध्याको डेरामा फर्किएका उनीहरू एउटै कोठामा थिए। राति करिब १२ बजे सन्ध्या निदाएको मौका छोपेर जीवनले उनीमाथि जबरजस्ती सुरु गरे।
अभियोग पत्रमा उल्लेखित पीडितको बयान अनुसार, सन्ध्या निन्द्राबाट ब्युँझिएर प्रतिकार गर्न खोजिन्। तर, जीवनले उल्टै धम्की दिए। ‘चुप लाग, कराइस् भने तेरो नै बेइज्जत हुन्छ, हल्ला गरिस भने समाजले तेरो कुरा काट्छ’ भन्दै उनले सन्ध्यालाई मानसिक दबाबमा पारे।
‘हामी बिहे गर्ने नै हो, केही हुँदैन’ भन्दै उनले सन्ध्याको इच्छाविपरीत जबरजस्ती करणी गरे। १८ वर्षीया सन्ध्या डरले त्यो रातको पीडा कसैलाई भन्न सकिनन्।
घटनाको भोलिपल्ट अर्थात् मंसिर २७ गते जीवनले अर्को नाटक रचे। ‘मेरो युके जाने फ्लाइट छ’ भन्दै उनले कोटेश्वरको एउटा होटलमा कोठा बुक गरे। सन्ध्यालाई पनि त्यहाँसम्म पुर्याए। तर, ‘होटलभित्र साथीहरू छन्, तिमी भित्र नजाऊ, कोठामा फर्क’ भन्दै ट्याक्सीमा चढाएर पठाए।
भोलिपल्ट मंसिर २८ गते सन्ध्याको मोबाइलमा एउटा म्यासेज आयो- ‘म दुबई ट्रान्जिट आइपुगेँ।’ त्यसपछि सम्पर्क विच्छेद भयो। ह्वाट्सएप र भाइबर अफलाइन भयो। सन्ध्या छाँगाबाट खसेजस्तै भइन्। हिजोसम्म बिहेको सपना देखाउने मान्छे, भोलिपल्टै विदेश उड्यो?
ट्याटुले खोलिदियो पोल
सम्पर्कविहीन भएपछि सन्ध्याको मनमा शंका उब्जियो। उनले हार मानिनन्, अनुसन्धान सुरू गरिन्। उनले बुझ्दै जाँदा थाहा पाइन्- जीवन छन्त्याल (मनोज) युके उडेकै रहेनछन्, उनी नेपालमै लुकेर बसेका रहेछन्। अझ ठूलो धक्का तब लाग्यो जब उनलाई थाहा भयो कि उनी ‘मनोज गुरुङ’ नभएर ‘जीवन छन्त्याल’ हुन् र उनी विवाहित हुन्।
यो रहस्य खुल्नुमा जीवनको शरीरमा भएको एउटा ‘ट्याटु’ ले ठूलो भूमिका खेल्यो। सन्ध्याले संगतको क्रममा उनको शरीरमा ‘जीवन’ नामको ट्याटु खोपेको देखेकी थिइन्। सोही आधारमा र अन्य स्रोतहरू परिचालन गरेर उनले पत्ता लगाइन् कि आफूसँग संगत गर्ने व्यक्ति मनोज नभई म्याग्दीका जीवन छन्त्याल हुन्। उनी बेलायती पासपोर्टवाहक नागरिक हुन् भन्ने पनि खुल्यो।
प्रहरी अनुसन्धानमा खुलेअनुसार, जीवनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको तर कानुनी रूपमा अलग नभएको अवस्थामा नेपाल आएर सन्ध्यालाई फसाएका थिए। उनले मंसिर १४ गते नै नेपाल छाड्ने भनेर ढाँटेका थिए, जबकि उनको भिसा र टिकटको विवरणले उनी नेपालमै रहेको पुष्टि गर्यो।
कानुनी कठघरामा ‘बेलायती नागरिक’
आफू बलात्कृत भएको र ठगिएको महसुस गरेपछि सन्ध्याले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिइन्। प्रहरीले अनुसन्धान गर्दा जीवनले नाम, थर, ठेगाना र वैवाहिक स्थिति सबै ढाँटेर सन्ध्यालाई विश्वासघात गरेको पुष्टि भयो।
प्रहरीले जीवनलाई पक्राउ गरी अनुसन्धान अघि बढायो। बयानका क्रममा जीवनले सहमतिमै शारीरिक सम्बन्ध भएको दाबी गरे पनि परिस्थितिजन्य प्रमाण, उमेरको अन्तर, नक्कली परिचय र घटना लगत्तै भाग्ने प्रयासले उनको दाबीलाई कमजोर बनाएको छ। पीडितको स्वास्थ्य परीक्षण रिपोर्टमा ‘हाइमेन ट्रान्जेक्टेड’ देखिएको छ, जसले अभियोगलाई थप बल पुर्याएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको ठहर गर्दै जीवन छन्त्याल विरुद्ध अभियोग पत्र दायर गरेको छ। पीडित १८ वर्ष वा सोभन्दा माथि भएकोले दफा २१९ को उपदफा (३) (ङ) बमोजिम ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ।
साथै, मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३क) (ग) बमोजिम तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई मनासिब क्षतिपूर्तिको समेत मागदाबी गरिएको छ।
माघ १५, २०८२ बिहीबार १२:५०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।