हात समात्दै मञ्चमा पुर्याएकी र्यापर निकीले भनिन्- ‘म राष्ट्रपतिको फ्यान हुँ’; ट्रम्पको जवाफ- ‘कति राम्रा नङ’
एजेन्सी : चर्चित अमेरिकी र्यापर तथा हिप-हप गायिका निकी मिनाज, बुधबार वासिङ्टन डीसीमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एउटाै मञ्चमा देखिएकी छन्।
ट्रम्पको हात समातेर मञ्चमा पुगेकी निकीले आफूलाई राष्ट्रपतिको सबैभन्दा ठूलो प्रशंसक भएको घोषणा गरिन्।
दर्शकहरूलाई सम्बोधन गर्दै निकीले भनिन्, ‘सायद म राष्ट्रपतिको नम्बर १ फ्यान हुँ र यो कुरा कहिल्यै बदलिने छैन।’
आलोचकहरूको टिप्पणी र घृणाले आफूलाई कुनै फरक नपर्ने बरु त्यसले समर्थन गर्न थप हौसला दिने उनले बताइन्।
ट्रम्पका विरोधीहरूले उनलाई अनावश्यक निसाना बनाएको आरोप लगाउँदै निकीले भनिन्, ‘हामी उहाँलाई बुली गर्न दिने छैनौँ। उहाँको पछाडि ठूलो शक्ति छ र भगवानले उहाँको रक्षा गरिरहनुभएको छ।’
कार्यक्रममा राष्ट्रपति ट्रम्पले पनि निकी मिनाजको खुलेर प्रशंसा गरे। उनले निकीलाई इतिहासकै सबैभन्दा सफल र महान् महिला र्यापरको संज्ञा दिए।
ट्रम्पले ठट्टा गर्दै निकीको लामा नङहरूको तारिफ समेत गरे। निकीका नङ देखेर प्रभावित भएका ट्रम्पले आफूले पनि अब नङ बढाउन सक्ने भन्दै रमाइलो गरेका थिए।
राष्ट्रपति ट्रम्पले आफ्नो अभियानका लागि निकीले गरेको आर्थिक सहयोगप्रति धन्यवाद व्यक्त गरे।
रिपोर्टहरूका अनुसार निकीले १ लाख ५० हजार देखि ३ लाख अमेरिकी डलरसम्म सहयोग गरेको बताइएको छ, यद्यपि यकिन रकम भने पुष्टि भएको छैन।
माघ १५, २०८२ बिहीबार १२:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।