हिमाली जिल्लामा भारी हिमपात: जनजीवन कष्टकर, सडक अवरुद्ध तर किसानमा खुसी
काठमाडौँ : नेपालका हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा मङ्गलबार रातिदेखि भएको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। मुस्ताङ, हुम्ला, डोल्पा, बैतडी, बाजुरा, मनाङ र रुकुम पूर्व लगायतका जिल्लाहरू हिउँले सेताम्मे भएका छन्।
मुस्ताङको घरपझोङ, जोमसोम र वारागुङ मुक्ति क्षेत्रको कागबेनी आसपासका क्षेत्र हिउँले ढाकिएका छन्। यस सिजनमा माथिल्लो मुस्ताङमा तीन पटक र तल्लो मुस्ताङमा दुई पटक हिमपात भइसकेको छ।
कागबेनी-मुक्तिनाथ सडकमा जमेको हिउँ सशस्त्र प्रहरीको टोलीले पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ। लोमान्थाङको नेचुङ भन्सारमा सामान लिन गएका कन्टेनरहरू भारी हिमपातका कारण रोकिएका छन्।
प्रतिकुल मौसमका बाबजुद नेपाल-चीन कोरला नाका क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती जारी राखेको छ। मनाङको सदरमुकाम चामे र माथिल्लो भेगमा पनि भारी हिमपात हुँदा दैनिक क्रियाकलाप ठप्प प्रायः बनेको छ।
कर्णाली र सुदूरपश्चिममा प्रभाव
हुम्लाको सिमिकोट र नाम्खा गाउँपालिकाको लिमी उपत्यका हिउँले सेताम्मे बनेका छन्। सिमिकोट आउँदै गरेका सवारी साधनहरू कालाढुङ्गा क्षेत्रमा फसेपछि सुरक्षाकर्मीले हिउँ पन्छाएर उद्धार गरेका छन्।
त्यसैगरी, डोल्पाको जगदुल्ला गाउँपालिकामा भारी हिमपातका कारण स्थानीयहरू घरको छानामा थुप्रिएको हिउँ पन्छाउन व्यस्त देखिन्छन्। सुदूरपश्चिमको बैतडी र बाजुरामा पनि वर्षासँगै हिमपात भएको छ। बैतडीको खोडपे, अनारखोली र ढोल्यामोड क्षेत्रमा हिउँ पर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो, जसलाई सुरक्षाकर्मीले हिउँ पन्छाएर पुनः सुचारु गराएका छन्।
किसानमा उत्साह, यात्रुलाई सास्ती
हिमपातले एकातिर मध्यपहाडी लोकमार्ग र अन्य ग्रामीण सडकहरू अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने अर्कोतिर किसानहरूमा खुसीयाली छाएको छ। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका किसानहरूले हिउँ परेपछि हिउँदे खेती सप्रने भन्दै खुसी व्यक्त गरेका छन्।

माघ १४, २०८२ बुधबार १८:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।