बागी उम्मेदवारी दिनेसहित ८ जनामाथि जसपाको कारबाही
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध 'बागी' उम्मेदवारी दिएका ८ जना नेताहरूलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको नीति, निर्णय र विधान विपरीत कार्य गरेको भन्दै जसपाले उनीहरूलाई कारबाही गरेको हो।
पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरेर कारबाहीको जानकारी दिए। विज्ञप्तिअनुसार निष्कासनमा पर्नेहरूमा ६ जना प्रतिनिधि सभाका उम्मेदवार र २ जना अन्य नेताहरू रहेका छन्।
पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेहरूमा प्रदीप यादव (पर्सा), कमरुल्लाह अन्सारी (बारा), नवलकिशोर सिंह (बारा), चन्दनकुमार सिंह (बारा) र आत्माराम साह (बारा) रहेका छन्। त्यसैगरी, उदयकान्त मिश्र (सर्लाही) तथा महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादवलाई पनि पार्टीबाट निष्कासन गरिएको छ।
उनीहरूले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएर पार्टी हित र अनुशासनविपरित कार्य गरेकाले आजैका मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीको आधिकारिक निर्णयलाई चुनौती दिँदै स्वतन्त्र वा अन्य समूहबाट उम्मेदवारी कायम राखेकाले उनीहरूमाथि संगठनको विधानबमोजिम यो कदम चालिएको जसपा नेपालले जनाएको छ।
माघ १४, २०८२ बुधबार १८:०२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।