माटोमा कला भर्ने भक्तपुरको पोटरी स्क्वायर, जहाँ चक्रमा घुमेको छ पुर्ख्यौली विरासत (फोटो फिचर)
भक्तपुर : भक्तपुरको प्राचीन दरबार स्क्वायरबाट दक्षिणतर्फ हिँड्दै गर्दा केही मिनेटमै पुगिन्छ- तालाकोको ‘कुम्हः त्व’ अर्थात् कुमाले टोल।
यहाँ पाइला टेक्नेबित्तिकै लाग्छ- हामी कुनै खुला सङ्ग्रहालयमा आइपुगेका छौँ। आजकल धेरैले यसलाई ‘पोटरी स्क्वायर’ का नामले चिन्छन्। बाह्रै महिना माटोको सुगन्धले मगमगाउने यो चोक भक्तपुरको जीवित इतिहास हो।
लिच्छवि र मल्ल कालदेखिको विरासत बोकेको यो चोकमा पुग्दा जो कोही पनि एकछिन टक्क अडिन्छन्। यहाँका प्रजापति समुदायका हातहरू जब माटोमा पर्छन्, तब माटो केबल माटो मात्र रहँदैन, सुन्दर आकृति बन्छ।

वृद्ध हजुरबुवादेखि आजका युवा पुस्तासम्म, सबैको एउटै लय र सुर हुन्छ- माटो मुछ्ने, चक्र घुमाउने र काँचो माटोलाई कलात्मक आकार दिने।
यहाँ बिहानको झुल्के घामसँगै प्रजापतिहरूको दैनिकी सुरू हुन्छ। भुइँभरि बिस्कुन झैँ सुकाइएका माटाका भाँडाहरू। परम्परागत काठको चक्र होस् वा आधुनिक विद्युतीय चक्र, यहाँका शिल्पकारहरूको एकाग्रता उस्तै हुन्छ।

कालो माटोलाई प्रेमपूर्वक मुछेर चक्रमा राख्दा जुन आकार बन्छ, त्यो केवल व्यापारको वस्तु मात्र होइन, पुस्तान्तरण हुँदै आएको सीप र पहिचानको प्रतीक हो।
यसका अलावा पोटरी स्क्वायरका पसलहरूमा सजाएर राखिएका माटाका मुखौटाहरू, भगवानका मूर्तिहरू, खुत्रुके, घैँटा र दियोहरूले यहाँको कलाकौशलको बयान गर्छन्।

पर्यटकहरू यहाँ केवल रमिता हेर्न मात्र आउँदैनन्। धेरैजसो माटोको स्पर्श महसुस गर्न, आफ्नै हातले केही बनाउन सिक्न र यो आदिम कलालाई नजिकबाट नियाल्न लालयित हुन्छन्। यो चोक अब एउटा व्यापारिक केन्द्र मात्र रहेन, यो एउटा ‘खुला कार्यशाला’ बनेको छ।
पुसको चिसोमा होस् वा वैशाखको गर्मीमा, यहाँको रौनक कहिल्यै घट्दैन। पुष ११ र १२ गते पोटरी स्क्वायरमा भएको सडक महोत्सवमा आएका पर्यटकले पनि आधुनिकताको जतिसुकै बाढी आए पनि मौलिक कलाको तिर्खा मेटिएको छैन भन्ने कुरा पुष्टि गर्छ।

यहाँ बन्ने भाँडाहरू भान्साको शोभा मात्र होइनन्। नेवार समुदायका जन्मदेखि मृत्युसम्मका संस्कार, जात्रा र पर्वहरूमा यहाँकै माटोको भाँडा अनिवार्य हुन्छ। चोकको बीचमा अवस्थित ज्याठा गणेश र गोरखनाथ मन्दिरले यहाँको धार्मिक आस्थालाई पनि कलासँगै जोडेर राखेका छन्।

पोटरी स्क्वायर भक्तपुरको एउटा यस्तो गन्तव्य हो, जहाँ माटो र मान्छेको सम्बन्ध कति गहिरो हुन्छ भन्ने कुरा आँखाले देख्न र मनले महसुस गर्न सकिन्छ।




माघ १४, २०८२ बुधबार १४:०४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।