शिक्षण अस्पतालले भन्यो- ‘सेलुलाइटिस’ भएपछि रवि अस्पताल भर्ना भएका हुन्, सञ्जालमा फैलिएको फोटो अस्पतालको हैन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ‘सेलुलाइटिस’को संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा भर्ना भएका छन्।
सभापति लामिछानेको देब्रे खुट्टामा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहबमोजिम माघ १३ गते अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंद्वारा माघ १४ गते जारी प्रेस विज्ञप्तिका अनुसार, गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रमका क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि निको नभई ‘सेलुलाइटिस’ भएको कारण उनलाई भर्ना गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।’
साथै, अस्पतालले सामाजिक सञ्जालमा लामिछानेको भन्दै भेटिएका फोटोहरू शिक्षण अस्पतालको नरहेको भन्दै ध्यानाकर्षण गराएको छ।
सचिवालयको अनुरोध : भेट्न नआइदिनुहोला
यसअघि माघ १३ गते लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले एक सूचना जारी गर्दै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही दिन अस्पतालमै राख्नुपर्ने भएकाले भर्ना गरिएको जानकारी दिएका थिए।
आचार्यले अस्पतालमा अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर पर्न सक्ने र अस्पताल प्रशासनलाई असहज हुन सक्ने भन्दै शुभेच्छुकहरूलाई भेटघाटका लागि अस्पताल नआइदिन अनुरोध गरेका छन् । पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र लामिछाने नियमित राजनीतिक अभियानमा फर्किने सचिवालयले जनाएको छ।
के हो सेलुलाइटिस?
सेलुलाइटिस एक गम्भीर ब्याक्टेरियल संक्रमण हो, जसले छालाको भित्री तह र तन्तुहरूलाई असर गर्छ।
छालामा सामान्य चोटपटक लाग्दा, काटिँदा, किराले टोक्दा वा शल्यक्रियाको घाउबाट ‘स्टेफिलोकोकस’ वा ‘स्ट्रेप्टोकोकस’ जस्ता ब्याक्टेरिया छालाको भित्री तहमा प्रवेश गरेपछि यो संक्रमण हुन्छ। रवि लामिछानेको हकमा पनि चोट लागेको ठाउँबाटै संक्रमण फैलिएको देखिन्छ।
संक्रमित भाग रातो हुनु र सुन्निनु, छाला छुँदा तातो महसुस हुनु, दुखाइ हुनु, संक्रमण बढ्दै जाँदा ज्वरो आउनु र जाडो लाग्नु यसका लक्षण हुन्।
यदि सेलुलाइटिसको समयमै उपचार गरिएन भने यो निकै खतरनाक हुनसक्छ। यसको संक्रमण रगतमा फैलिन सक्छ, हड्डीमा पुग्न सक्छ वा लिम्फ नोड्ससम्म फैलिन सक्छ। गम्भीर अवस्थामा यसले ज्यानै जाने जोखिम पनि निम्त्याउन सक्छ।
त्यसैले, सामान्य एन्टिबायोटिक औषधिले काम नगरेको अवस्थामा वा संक्रमण छिटो फैलिने डर भएमा बिरामीलाई अस्पतालमै भर्ना गरेर नशाबाट कडा एन्टिबायोटिक दिने गरिन्छ। चिकित्सकहरूले संक्रमण रगतमा फैलिएको छ कि छैन भनेर निगरानी गर्न अस्पताल बस्न सुझाव दिन्छन्।
माघ १४, २०८२ बुधबार ११:२५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।