मिसन पुस्तान्तरण-६ : रविको ‘गढ’मा एमालेका ३८ वर्षीय युवा अस्मिनको ‘इन्ट्री’
काठमाडौं : भ्रष्टाचारको अन्त्य, सुशासन र राज्यका निर्णायक तहमा युवाको अर्थपूर्ण सहभागिता। यिनै प्रमुख मुद्दाहरू बोकेर भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक नक्सा नै बदलिदियो।
सडकबाट उठेको त्यो आवाजले पुरानो सत्ता समीकरणलाई मात्र ढलाएन, आगामी फागुन २१ गतेका लागि नयाँ जनादेशको ढोकासमेत खोलिदियो।
दल नेतृत्वको सत्ता ढलेपछि अहिले मुलुक चुनावी सरकारको नेतृत्व गरिरहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको जिम्मामा छ। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले देशलाई कता लैजान्छ भन्ने कौतूहल र उत्साह मिश्रित ‘चुनावी फिभर’ ले गाउँ-सहर तातेको छ।
यही परिवर्तनको लहरलाई आत्मसात् गर्दै एमालेले यसपटकको निर्वाचनमा ‘युवा कार्ड’ खेलेको छ। एमालेले प्रतिनिधि सभा सदस्यका लागि ४० वर्षमुनिका १३ जना युवालाई उम्मेदवार बनाएको छ। तिनै १३ युवामध्येका एक हुन्- ३८ वर्षीय अस्मिन घिमिरे।
देशभरका ‘हट सिट’ मध्ये चर्चामा रहेको चितवन क्षेत्र नम्बर-२ मा एमालेले अस्मिनलाई आफ्नो ‘कमान्डर’ का रूपमा अघि सारेको छ। यो त्यही क्षेत्र हो, जहाँबाट यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई-दुई पटक भारी मतान्तरले बाजी मारेका थिए।
राजनीतिक दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार रहेको यो क्षेत्रमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै संसद् भवन प्रवेश गर्ने सपनासहित अस्मिन घरदैलोमा छन्। यद्यपि, उनका लागि यो चुनावी लडाइँ सहज भने छैन।
रविको ‘गढ’ मा अस्मिनको चुनौती
चितवन-२ मा यसपटकको लडाइँ सामान्य छैन। चुनावी मैदानमा २३ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा त्रिपक्षीय हुने अनुमान छ। अस्मिनका मुख्य प्रतिस्पर्धीका रूपमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी मिनाकुमारी खरेल मैदानमा छन्।
विगतको अंकगणित हेर्दा रवि लामिछाने यहाँ निकै बलियो देखिन्छन्। २०७९ को निर्वाचन र त्यसपछिको २०८० को उपनिर्वाचनमा लामिछानेले यहाँ एकछत्र राज गरे।
२०८० को उपनिर्वाचनमा लामिछानेले ५४ हजार २७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत मात्र पाएका थिए। लामिछानेको मतान्तर नै ४३ हजारभन्दा बढी थियो।
तर, राजनीति सधैँ गणितमा मात्र चल्दैन। सहकारी ठगी र संगठित अपराधको आरोपमा लामो समय हिरासत बसेर चुनावको मुखमा निस्किएका लामिछानेमाथि नैतिक प्रश्नहरू तेर्सिएका छन्।
अर्कोतर्फ, एमालेले स्थानीय माटोमा हुर्केका र युवा पुस्ताको प्रतिनिधित्व गर्ने अस्मिनलाई अघि सारेर लामिछानेको ‘पपुलिष्ट’ छवि तोड्ने रणनीति लिएको छ। ‘हेभीवेट’ लामिछाने र कांग्रेसको परम्परागत मतलाई चिर्दै नतिजा आफ्नो पोल्टामा पार्नु अस्मिनका लागि फलामको चिउरा चपाउनु सरह छ।
‘मेरो भूत, वर्तमान र भविष्य चितवनमै छ’
‘चितवन-२ मै किन उम्मेदवारी?’ भन्ने प्रश्नमा अस्मिन भन्छन्, ‘यो प्रश्न त बाहिरबाट आउनेलाई सोध्ने हो। मेरो त कर्मथलो नै यही हो। मैले पढेको, राजनीति गरेको र हुर्केको ठाउँ यही हो। मेरो भूत, वर्तमान र भविष्य चितवनमै छ।’
व्रतबन्ध, विवाहदेखि मर्दापर्दा र दुःखसुखमा सधैँ चितवनवासीसँगै रहेकाले आफूलाई स्थानीयले विश्वास गर्ने उनको दाबी छ।
‘सबैको माग युवा नेतृत्वको छ। म यहिको भूगोल र समुदायमा भिजेको छु, त्यसैले नतिजा मेरो पक्षमा आउनेमा विश्वस्त छु,’ उनले भने। राजनीतिसँगै उनी व्यवसायमा पनि संलग्न छन्। उनको सरसफाइसम्बन्धी (क्लिनिङ) कम्पनी छ भने कृषि उत्पादनमा पनि लाग्ने योजना बुनेका छन्।
अस्मिन आफ्नो उम्मेदवारीलाई व्यक्तिसँगको नभई विचारको लडाइँ मान्छन्। ‘यो संविधान राख्ने कि मास्ने, देश बनाउने कि जलाउने भन्ने बीचको लडाइँ हो’, उनी भन्छन्।
एमालेको उम्मेदवार हुँदा गर्व लाग्ने बताउने उनी आफूलाई केवल एउटा पार्टीको मात्र नभई संविधान मान्ने सम्पूर्ण पक्षधर र ‘युवा आन्दोलन’ को साझा उम्मेदवार ठान्छन्।
उनी भन्छन्, ‘हामी सभ्यता र संस्कृतिलाई खरानी बनाउने होइनौँ। पशुपतिनाथदेखि लुम्बिनीसम्म, जनकपुरदेखि देवघाटसम्मको गौरवशाली पहिचानलाई विश्वसामु चिनाउने पक्षमा छौँ।’
को हुन् अस्मिन ?
वि.सं. २०४४ मा गोरखाको सिरानचोकमा जन्मिएका अस्मिनको परिवार २०५३ सालतिर चितवन बसाइँ सरेको हो। चितवनको भरतपुर महानगरपालिका-१२, नौरंगेका स्थायी बासिन्दा उनले भरतपुरकै प्रेरणा इङ्लिस बोर्डिङ स्कुलबाट एसएलसी र सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातक तहमा अध्ययनरत छन्।
क्याम्पस पढ्दादेखि नै उनको राजनीतिक यात्रा सुरू भयो। अनेरास्ववियुको क्याम्पस कमिटी सदस्य हुँदै २०६५ सालमा उनी क्याम्पस कमिटी अध्यक्ष बने। उनकै नेतृत्वमा चितवनमा ‘अखिल साँझ’ नामक सांस्कृतिक कार्यक्रमको थालनी भएको थियो, जुन पछि देशभर विस्तार भयो।
अस्मिन युथफोर्सको संस्थापक सदस्य, अनेरास्ववियुको केन्द्रीय सदस्य, विदेश विभाग सचिव हुँदै युवा संघको केन्द्रीय सचिवालय सदस्यसम्म भए।
एमालेको बागमती प्रदेश कमिटीमा युवा क्लस्टरबाट लोकप्रिय मतसहित निर्वाचित भएका उनी हाल एमाले बागमती प्रदेश जनसांस्कृतिक समितिको इन्चार्ज समेत हुन्। राजनीतिसँगै उनी गीत-संगीतमा पनि सक्रिय छन्। उनले पार्टी र संगठनसम्बन्धी दुई दर्जनभन्दा बढी गीत गाएका छन्।
चुनावी मैदानमा २३ उम्मेदवार
चितवन-२ मा अस्मिन (एमाले), रवि लामिछाने (रास्वपा), मिनाकुमारी खरेल (कांग्रेस), जगदिश्वर अधिकारी (राप्रपा), प्रताप गुरुङ (नेसीपी), कमानसिंह चौधरी (जसपा), निर्मलाकुमारी ठाकुर (जनमत), शोभा बासकुला (नेमकिपा) लगायत २३ जना उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारहरू इन्द्रबहादुर स्याङ्तान, कृष्णप्रसाद चापागाईँलगायत पनि प्रतिस्पर्धामा छन्।
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणका यसअघिका समाचार:
माघ १४, २०८२ बुधबार ०८:३७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।