पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं : पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार अध्यक्ष साम्पाङले श्रेष्ठलाई पार्टीमा भित्र्याएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त।" राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका श्रेष्ठ पैसा माग गरेको 'अडियो' सार्वजनिक भएपछि विवादमा तानिएका थिए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई बुझाउनुपर्ने भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई साधारण सदस्य र सांसद पद दुवैबाट निष्कासन गरेको थियो। सांसद पदबाट मुक्त भएपछि पनि श्रेष्ठ थप अर्को विषयमा कानुनी विवादमा परेका थिए। 

पोखरास्थित आफ्नै फार्मेसीबाट प्रतिबन्धित औषधि 'ट्रामाडोल' अवैध रूपमा बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा लागुऔषध मुद्दामा पक्राउ परेका एक व्यक्तिले श्रेष्ठको मेडिकलबाट औषधि खरिद गरेको बयान दिएपछि उनीमाथि कारबाही अघि बढेको थियो। उक्त मुद्दामा उनी ७५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

विवादास्पद छविका कारण रास्वपाबाट निष्कासित भएका श्रेष्ठले अब साम्पाङको नेतृत्वमा राजनीतिक यात्रा अगाडि बढाउँदै छन्। उनलाई श्रम संस्कृति पार्टीमा कुन जिम्मेवारी दिइएको छ भन्ने विषय खुलेको छैन। 

माघ १३, २०८२ मंगलबार १८:५०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।