प्रचण्डको आक्रोश : ‘सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भयो’
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सामाजिक सञ्जालमा हुने स्टण्टबाजीले जनतालाई भ्रमित तुल्याइरहेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले विचार र सिद्धान्तभन्दा पनि प्रचारबाजीको भरमा जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको दाबी गरे।
देशमा हाल सिद्धान्त र विचारको खडेरी देखिएको चर्चा गर्दै उनले भने, “अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ। सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ।”
प्रचण्डले आफ्ना पुराना सहयात्री मोहन वैद्य ‘किरण’प्रति सम्मान व्यक्त गर्दै उनको कार्यशैलीमाथि भने प्रश्न उठाए। “किरण जीलाई मैले पनि आदर गर्छु, सिद्धान्तको दृष्टिकोणले मेरो मनमा उहाँप्रति आक्रोश छैन, उहाँलाई अपमान गर्न पनि कुनै मन छैन , तर उहाँले बौद्ध भिक्षुक रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही छैन,” उनले भने।
मुलुकको पछिल्लो राजनीतिक अवस्था र 'जेनजी' आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण परिस्थितिमा पुगेको उनको विश्लेषण थियो। यस्तो अवस्थामा विदेशी चलखेल बढ्न सक्ने खतरा औँल्याउँदै प्रचण्डले राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी एकता अपरिहार्य रहेको बताए।
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समूह) पार्टीबाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ। प्रचण्डले वाम एकताको अभियान तीव्र गतिमा अघि बढेको र भोलिसम्म एकता प्रक्रियामा आउने शक्तिहरूको संख्या २३ पुग्ने दाबी समेत गरे।
माघ १३, २०८२ मंगलबार १७:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।