कुर्सी उठाउँदा गरियो ट्रोल, मर्मत र रङ्गरोगनपछि फर्कियो रौनक!
काठमाडौं : काठमाडौं महानगरपालिकाले सिंहदरबार-भद्रकाली सडक खण्डको पैदल मार्गमा रहेका सार्वजनिक कुर्सीहरूको मर्मत सम्भार र रंगरोगन गरी पुनः साविककै स्थानमा राखेको छ। जीर्ण अवस्थामा रहेका कुर्सीहरूलाई मर्मतका लागि महानगरले केही समयको लागि हटाएको थियो।
काठ उप्किएको, भाँचिएको अवस्थामा रहेका कुर्सीहरू मर्मतका लागि काठमाडौं महानगरले उठाएर लगेपछि सामाजिक सञ्जालमा महानगरपालिका र कार्यवाहक प्रमुख सुनिता डंगोलको आलोचना भयो। ‘बालेन गएपछि महानगर ध्वस्त भयो’, ‘एमालेले गर्दा महानगर फेरि बिग्रियो’ जस्ता टिप्पणीहरू गरियो। डंगोलको तस्बिर राखेर अपशब्द प्रयोग गरिएका पोष्टहरु छरपस्ट भए।
तर अहिले ती कुर्सीहरू मर्मत सम्भार गरेर पहिलाकै ठाउँमा राखिएको महानगरले नै स्पष्ट पारेको छ। काठमाडौं महानगरका अनुसार फुटपाथ मर्मतको काम भइरहेका बेला त्यहाँ रहेका कुर्सीहरू भाँचिएको र काठ उप्किएको अवस्थामा भेटिएपछि तिनलाई मर्मतका लागि उठाइएको थियो।
"हामीले कुर्सी मात्र मर्मत सम्भार गर्ने भनेर पनि गरेका होइनौं। महानगरले एक देखि ३२ वटाकै फुटपाथ मर्मत सम्भार गरिरहेको छ। यो अहिले कुर्सीहरू मर्मत भएको पनि त्यही आयोजना अनुसारकै हो," विभागीय प्रमुख सुरेश कुमार राईले भने, "फुटपाथको आयोजना अगाडि बढिरहेको समयमा कुर्सीहरू पनि मर्मत गर्न पर्ने देखेर मर्मत गरेका हौं।"

उकेराकर्मी सिंहदरबार परिसरमा पुग्दा त्यहाँ सबै कुर्सीहरू रंगरोगन गरिएको र कुर्सीलाई फलामसँग टाँसिएर राखिएको देखियो। फलामले ती कुर्सीहरूलाई वरपर सार्न नमिल्ने बनाएर राखेएका छन्। अधिकांश पैदलयात्रीहरु पुसको चिसोमा अहिले त्यही कुर्सीमा बसेर घाम तापिरहेका देखिन्थे।
सरिश्मा लामिछानेले उकेरालाई भनिन्, "म सधैँ यही बाटो हिँड्ने हो। हेर्नु न कस्तो राम्रो बनाए छ। सामाजिक सञ्जालमा त केके न भएको जस्तो गरेर उपमेयरको फोटोमा गाली गरिरहेको देखेको थिएँ। यहाँ आएर हेर्दा बसेर फोटो खिचौँ जस्तो भएछ।"

सिंहदरबारबाट भद्रकाली जाने बायाँ साइडमा ३१ र दायाँ साइडमा ३४ गरेर जम्मा ६५ सार्वजनिक कुर्सीहरू देखिए। भद्रकाली मन्दिर नजिकैको केही कुर्सी भने अझै मर्मत सम्भार हुनै बाँकी देखिन्थ्यो। त्यसबाहेकका सबै कुर्सीहरू रंगिन देखिन्छ।
महानगरका सार्वजनिक निर्माण विभागका अनुसार पैदल यात्रुको सहजता र सहरको सौन्दयलाई ध्यानमा राख्दै ती कुर्सीहरू व्यवस्थापन गरेको हो। विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले संयुक्त यो काम अगाडि बढाएको पनि विभागले जनायो।
माघ १३, २०८२ मंगलबार १६:५०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।