६ करोड ७८ लाखको भ्रष्टाचार : भरतपुरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले मंगलबार आरोप पत्र दर्ता गरेको हो। आचार्यले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकाश पाउने बेलासम्मको अवधिमा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी अस्वाभाविक सम्पत्ति जोडेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
आचार्य २०४८ साल माघ ६ गते राष्ट्रसेवकका रूपमा सेवामा प्रवेश गरेका थिए। उनले सम्पत्ति विवरण फाराम बुझाएको मिति २०८० असार ६ गतेसम्मको करिब ३१ वर्षको अवधिलाई अनुसन्धानको आधार बनाइएको छ।
यस अवधिमा उनको वैध आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ १८ पैसा मात्र देखिएको छ। यस आयमा उनको पारिश्रमिक, विभिन्न भत्ता (भ्रमण, स्थानीय, बैठक), जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक, बैंक कर्जा, घरभाडा, सेयर लाभांश र सवारी साधन बिक्री लगायतका स्रोतहरू गणना गरिएको छ।
जाँच अवधिमा आचार्य र उनको परिवारको कुल खर्च तथा लगानी भने १० करोड २९ लाख बढी देखिएको छ। उनले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, छोराछोरीको शिक्षा, बिमा शुल्क भुक्तानी र विभिन्न कम्पनीमा ठूलो रकम लगानी गरेको पाइएको छ। वैध आय र कुल खर्चको तुलना गर्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसाको वैधानिक स्रोत नखुलेको आयोगको ठहर छ।
आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको छ। भ्रष्टाचार गरी आर्जन गरिएको उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले श्रीमती सुवेदीलाई पनि प्रतिवादी कायम गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकाले सोही ऐन बमोजिम बिगो (६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ) असुलउपर, कैद सजाय र जरिवानाको माग गरिएको छ। साथै, स्रोत नखुलेको सम्पत्तिबाट बढे-बढाइएका घरजग्गा र बैंक मौज्दातसमेत जफत गर्न मागदाबी गरिएको छ।
माघ १३, २०८२ मंगलबार १४:५९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।